विकास, स्थानीय जनता र द्वन्द्व

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

योजनाहरू समयमा सक्ने परम्परा थालनी गर्ने हो भने नीतिगत रूपमा प्रस्ट हुनैपर्छ 

नागढुंगा वारपार गर्ने गरी बन्न लागेको सुरुङमार्ग आसपासका स्थानीयले निर्माण कार्यमा बाधा पुर्याउने धम्कीसहित फेरि विरोध गरेका छन् । आयोजनाको गत वर्ष शिलान्यास गरिएको भए पनि मुआब्जासम्बन्धी विवाद र कोरोना महामारीका कारण समयमा निर्माण कार्य सुरु हुन सकेको थिएन । यसै हप्ता निर्माण आरम्भ गरिएको योजनामा स्थानीय जनताले केही मागसहित अवरोध गर्ने चेतावनी दिएका छन् । मागहरू हेर्दा केही माग पहिले नै सम्बोधन भएका र पूरा हुने क्रममा रहेका छन् भने केही माग योजनाले समेट्ने क्षेत्रभन्दा बाहिरका छन् । विरोधका कार्यक्रमले योजनालाई समयमै सम्पन्न गर्न के–कति बाधा पुर्याउँछ भन्ने हेर्न बाँकी छ । तर, यस्ता विरोधका कार्यक्रम योजनाको परिकल्पना गर्दा, विस्तृत परियोजना प्रतिवेदन तयार पार्दा, वातावरणीय मूल्यांकन गर्दा नै तय भइसक्नुपर्ने प्रकृतिका मागमा आधारित हुने गरेको देखिन्छ । 

पहिले आफ्नो क्षेत्रमा योजना आउँदा फाइदा हुन्छ भनेर स्वीकार गर्ने र पछि आफूअनुकूल समस्या बल्झाउँदै लगेर आयोजनालाई दबाब दिने र माग पूरा गराउने एकखालको प्रचलनजस्तो विकास भएको छ । यस्ता विरोधको प्रकृति सामान्यतया दुई प्रकारका हुने गरेका छन् । पहिलो, यस्ता योजना थालनी गर्दा स्थानीय जनताका चासोलाई सम्बोधन नगरी माथिबाट योजना थोपर्दा उत्पन्न प्रतिक्रियाका कारण हुने विरोध । यस्ता विरोध खोकनालगायत क्षेत्रमा देख्न सकिन्छ, जहाँ परम्परागत सांस्कृतिक मूल्यमाथि राज्यले हस्तक्षेप गरेको स्थानीयको आरोप छ । यो आदिवासी समुदाय, राज्य र बजारबीच संघर्षको परिणामका रूपमा पनि देखापर्छ । यसबाहेक पनि योजनाले दिनुपर्ने भनिएका क्षतिपूर्तिलगायत प्रतिबद्धता समयमा पूरा नगर्दा उत्पन्न प्रतिक्रियाले पनि समस्या बल्झिने गरेका छन् । 

दोस्रो, नितान्त स्थानीय स्वार्थ समूहको द्वन्द्व र राजनीतिक लाभ–हानिका लागि गरिने विरोध हो, जसले न परियोजना अघि बढ्न दिन्छ, न कहिल्यै स्थानीयका माग पूरा हुन्छन् । यसमा परियोजनाको लागत र समय बढाउने, स्थानीय स्वार्थ समूह मोटाउने र बिचौलियाले फाइदा लिने काम मात्र हुन्छ । समयमा काम सम्पन्न नभएर साना–ठूला परियोजनाहरू रुग्ण बन्ने एक प्रकारको दीर्घरोगले नेपालको समाज, अर्थतन्त्र र राज्यप्रणाली सबैलाई छोएको छ । मेलम्ची होस् या तामाकोसी, तिनले दिने सन्देश भनेको परियोजनाहरू समयमा बन्दैनन्, परियोजनासँग सम्बन्ध राख्ने विविध पक्षले यसलाई दुहुुनो गाई बनाएर राज्यलाई हानि–नोक्सानी पुर्याइरहन्छन् भन्ने नै हो । 

सरकारी योजना होस् या निजी क्षेत्रको कुनै पनि योजना, त्यस्तो योजनामा आउने लगानीबाट फाइदा लिनु अधिकारको कुरा हो भन्ने र जायज–नाजायज माग राखेर योजना अघि बढ्न नदिनेमा राजनीतिक दल, स्थानीय डन र स्वार्थ समूहहरू सक्रिय हुन्छन् । यसबाट स्थायी रूपले छुट्कारा पाउन यस्ता योजना थालनी गर्नुअघि योजना सञ्चालन गर्ने पक्ष, स्थानीय रूपमा प्रभावित बासिन्दा र राज्यबीच त्रिपक्षीय संवाद र पछि उल्लंघन गर्ने पक्षले क्षतिपूर्ति दिनुपर्ने प्रस्ट कानुनी व्यवस्थासहितको सम्झौता हुनु जरुरी देखिन्छ । योजनाहरू समयमा सक्ने परम्परा थालनी गर्ने हो भने नीतिगत रूपमा प्रस्ट हुनैपर्छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार