सम्पादकीय : लोडसेडिङको आशंकाले जनतामा फेरि त्रास

आइतबार, १९ पुष, २०७७
डिजिटल संस्करण

चार वर्षदेखि ढुक्कसँग विद्युत् उपयोग गरिरहेका जनता अहिले घरीघरी बत्ती जान थालेपछि त्रसित हुन थालेका छन् । विगत तीन महिनादेखि देखिएको यो समस्याले उपभोक्ता मारमा परेका छन् र उज्यालो भविष्यप्रति सशंकित भएका छन् । लोडसेडिङको अन्धकार युग सकियो भनेर ढुक्क भएको केही समयमै बत्ती जाने यो क्रम बढेपछि मानिसमा फेरि शंका पैदा हुन थालेको हो । प्राधिकरणले यो नितान्त प्राविधिक समस्या भएको र छिट्टै समाधान गरिने बताइरहे पनि कतिपय ठाउँमा समय तोकेरै विद्युत् कटौती गर्न थालिएको छ । यस्तो सूचनाको उद्देश्य के हो भने प्राधिकरणले खास ठाउँमा बत्तीको नियमित आपूर्ति मिलाउन अर्को ठाउँको बत्ती काट्न थालेको छ । यसले हाम्रो समग्र विद्युत् उत्पादन, आयात तथा वितरण प्रणालीमा समस्या छ भन्ने उजागर गर्छ । 

राजनीतिक नेतृत्वका कारण प्राधिकरणबाट को आयो र को बाहिरियो भन्ने चिन्ता होइन, देश फेरि अन्धकारमा जान्छ कि भन्ने भय ठूलो हो । 

चार वर्षपहिले लोडसेडिङको कहालीलाग्दो अवस्थाबाट मुलुकलाई निकालेर प्राधिकरणको नेतृत्वमा रहेका कुलमान घिसिङ लोकप्रिय बनेका थिए । तर, तिनै घिसिङ अहिले प्राधिकरणको नेतृत्वमा नहुनासाथ बत्ती जान थालेको छ । यसले नेपाल विद्युत् प्राधिकरणको संस्थागत क्षमतामा रहेको समस्या पनि प्रस्ट पार्छ । किनकि कुलमानको बहिर्गमनसँगै विद्युत् वितरणमा समस्या देखिएको छ । कुनै देश विधि र थितिले चलेको छ भने त्यहाँका संस्था पनि बलिया हुँदै जान्छन्, तर देश नै थितिमा चलेको छैन भने चामत्कारिक व्यक्तिको आवश्यकता पर्छ । विद्युत् प्राधिकरणको समस्या त्यही हो । हामीकहाँ राजनीतिक नेतृत्वले आफ्नो ‘इगो’ र ‘इन्ट्रेस्ट’का कारण संस्थालाई बलियो हुन दिँदैन । नेतृत्वका लागि तयार भएका व्यक्तिलाई जिम्मेवारीबाट हटाउने  वातावरण तयार गर्छ । राजनीतिक नेतृत्वले बृहत् जनता र देशको हित होइन, आफ्नो सीमित स्वार्थका लागि विद्युत् प्राधिकरणलाई प्रयोग गरेको छ भन्नेमा जनमानस स्पष्ट नै छ । राजनीतिक नेतृत्वका कारण प्राधिकरणबाट को आयो र को बाहिरियो भन्ने चिन्ता होइन, देश फेरि अन्धकारमा जान्छ कि भन्ने भय ठूलो हो । 

कुनै पनि संस्थामा जस्तै नेपाल विद्युत् प्राधिकरणमा पनि समस्या थिए, छन् र रहनेछन् । विगत चार वर्षमा प्राधिकरणको असल प्रयासले समस्या व्यवस्थित रूपले सम्बोधन भएका थिए । तर, अहिले ती समस्या सम्बोधन हुन सकेका छैनन्, त्यसैले विद्युत् वितरणमा समस्या आएको छ । तथ्यले भन्छ, भारतबाट गत वर्षभन्दा डेढ  सय मेगावाट बिजुली बढी आयात भइरहेको छ, त्यस्तै काठमाडौं वरपर विद्युत्को माग गत वर्षभन्दा ७० मेगावाट कम छ । कोभिडका कारण होटेललगायत विभिन्न उद्योग गत वर्षभन्दा कम चलेका छन् । यसरी माग कम भएको र आयात बढेको अवस्थामा पनि विद्युत् वितरण किन गुणस्तरीय छैन ? यसको सोझो उत्तर के हो भने माग र आपूर्तिको व्यवस्थापनमा प्राधिकरण फेरि समस्यामा छ । यस विषयलाई प्राधिकरण र सरकारले हलुका रूपमा लिएको देखिन्छ, तर देश र जनताका लागि यो गम्भीर विषय हो । यो विषयमा सरकार तुरुन्तै संवेदनशील नभएमा जनताको आत्मविश्वासमा पनि गम्भीर धक्का लाग्नेछ । 

सम्पादकको रोजाइ

सुझावित समाचार