प्रधानमन्त्री केपी ओलीले संसद् पुनर्स्थापना नहुने दाबी गरेका छन् ।
नेकपा केपी ओली समूहको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले देश चुनावमा गएको र निर्वाचन आयोगले चुनावको तयारी थालेको बताए । उनले भने, 'प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । प्रचण्ड र नेपाल पक्षले कार्यकर्ता झुक्याउन भन्नुभएको होला।'
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई चुनावमा दुई अंकको सिट ल्याएर देखाउन चेतावनी दिए । ‘दुई अंकको सिट ल्याएर देखाउन म उहाँहरूलाई चेतावनी दिन्छु । हामी चुनावका लागि तयार हौँ, आदितुफान भएर अगाडि बढौँ । बाढीले बगाएर लैजान्छ । तपाईंहरू दृढताका साथ अगाडि बढ्नुहोस् । पद र पैसाका लागि मरिमेट्नेलाई देशको बलिदानी दिन सकिँदैन’ उनले भने, ‘बहुमत कहाँबाट आयो उहाँहरूसँग ? कुन अधिवेशनले दियो ? कसले दियो बहुमत ? असली पार्टी हामी हौँ । हाम्रो अदालत चार्ली चाप्लिन चिन्न गल्ती गर्दैन । इतिहास साक्षी छ सूर्य चिह्न हामीसँग हुन्छ । साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु । यो विश्वका लागि र यो देशका लागि पनि असाधारण र ऐतिहासिक वर्ष हुनेछ ।’