प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा : ‘एमिकस क्युरी’मा नेपाल बारका तीन वरिष्ठ अधिवक्ता

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटउपर सर्वोच्चले माग गरेको अदालतको सहयोगी अर्थात् ‘एमिकस क्युरी’का सदस्यको नाम टुंगो लगाएको छ । बारको बिहीबार बसेको बैठकले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको हो । स

र्वोच्च बारबाट पनि दुईजनालाई एमिकस क्युरीमा राखिनेछ । तर, सर्वोच्च बारको शुक्रबारको बैठकले मात्र नाम टुंगो लगाउने बताइएको छ । 

नेपाल बारका महासचिव लीलामणि पौडेलका अनुसार विज्ञ र अनुभवका आधारमा तीन वरिष्ठ अधिवक्तालाई सिफारिस गरिएको हो । ‘सार्वजनिक रूपमा विघटनका विषयमा आफ्नो धारणा राखिसक्नुभएकालाई भन्दा पनि नराख्नुभएकालाई हामीले पठाएका छौँ,’ उनले भने, ‘उहाँहरूले निष्पक्ष रूपमा अदालतलाई सहयोग गर्न सक्नुहुन्छ । वरिष्ठताका आधारमा पनि उहाँहरूलाई चयन गरिएको हो ।’

एमिकस क्युरीका लागि छानिएकामध्ये कार्की संवैधानिक मामिलाका जानकार मानिन्छन् । बारका पूर्वमहासचिव खरेल राजनीतिक रूपमा तटस्थ देखिने गरेका छन् । मैनाली भने मानव अधिकार विषयमा रुचि राख्छन् । उनी यसअघि प्रगतिशील प्यानलबाट बारको अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । 

सरकारको सिफारिसमा ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् । तर, संविधानमै नभएको अधिकार प्रयोग गरेर विघटनको सिफारिस गरेको भन्दै सर्वोच्चमा एक दर्जनभन्दा बढी रिट परेका छन् । ८ पुसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले यससम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो । १० पुसमा बसेको प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश दिनुका साथै एमिकस क्युरी गठन गर्ने निर्णय गरेको थियो । 

सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १३ मा इजलासले आवश्यक ठानेमा एमिकस क्युरीको सहयोग लिन सक्ने उल्लेख छ । यसको उपनियम १ मा भनिएको छ, ‘इजलासले आफूसमक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनका प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी)को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।’

संवैधानिक इजलासले दिएको आदेशमा ‘नेपाल बार एसोसिएसनबाट तीनजना र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुईजना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमध्येबाट अदालतको सहयोगी माग गर्नू’ भनिएको छ । 

संवैधानिक इजलासमा बहस हुँदा प्रधानन्यायाधीश जबराका अगाडि अधिवक्ताहरू निरीह देखिएका थिए । उनले गरेका तिखा प्रश्नको अधिवक्ताहरूले सन्तोषजनक जवाफ दिन सकेका थिएनन् । उनले अधिवक्तालाई नभई वरिष्ठलाई पालो दिन रुलिङ नै गरेका थिए । त्यसैले पनि नेपाल बारले न्यायाधीशका समकालीन र वरिष्ठलाई एमिकस क्युरीमा पठाएको छ । ‘हामीसँग संवैधानिक मामिलाका जानकार अधिवक्ताहरू पनि धेरै हुनुहुन्छ । तर, हामीले अदालती प्रक्रियाका अनुभवी, वरिष्ठ र सशक्तलाई पठाउने निर्णय गर्यौँ,’ बारका महासचिव पौडेलले भने । 

सर्वाेच्चले १९ पुसभित्र प्रतिनिधिसभा विघटनबारे जवाफ दिन सरकारलाई समय दिएको छ । २२ पुसदेखि यो मुद्दामा नियमित सुनुवाइको आदेशसमेत भइसकेको छ । 

सुझावित समाचार