मेलमिलाप दिवसमा देउवा : प्रधानमन्त्रीको कदम असंवैधानिक हो, तर अदालती प्रक्रियालाई धम्क्याउनु र तर्साउनु हुँदैन

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको कार्य असंवैधानिक भए पनि आन्दोलन गरेर अदालतको प्रक्रियालाई प्रभावित भने पार्न नहुने बताएका छन् । 

राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा कांग्रेसको सूचना तथा सञ्चार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले प्रधानमन्त्रीले अचानक संसद् विघटन गरेको कदम भने असंवैधानिक नै भएको बताए ।

उनले यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतको फैसला पर्खनुपर्ने बताए । 

अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्ने हिसाबले कदमहरू भने गर्न नहुने उनको ठहर छ । 

उनले भने, ‘हामीले अदालतमा रहेको विषयलाई आन्दोलनबाट यसाे गर, उसो गर भनेर धम्क्याउनु र तर्साउनु हुँदैन । अदालतको निर्णयलाई पर्खनुपर्छ ।’

उनले यो कदम असंवैधानिक मात्र नभई अलोकतान्त्रिक चरित्रको भएकोसमेत बताए ।

उनले यस कदमको विरोधमा कांग्रेसले देशभर विरोध कार्यक्रम गरेर आवाज उठाइरहेको उल्लेख गरे । 

कांग्रेसले पुस १६ लाई मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । कांग्रेसले ४५औँ मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

सुझावित समाचार