बिर्सन लायक वर्ष

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

धेरै कोणबाट हेर्दा यो वर्ष बिर्सन लायक रह्यो । आशा गरौँ, आगामी वर्ष मानव समुदायले यो समस्याबाट पार पाउनेछ र नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछन् ।

सन् २०२० को अन्तिम दिन आफूसँग बिर्सन लायक समयको फाइल बोकेर बिदा हुनेछ । गत वर्ष डिसेम्बर ३१ मा देखा परेको कोरोना भाइरस अर्थात् कोभिड–१९ ले सन् २०२० लाई आफ्नो सिकन्जामा कस्यो । आरम्भमा चीनको हुवेई प्रान्तको वुहानलाई केन्द्र बनाएर फैलिएको कोरोना छिटै विश्वव्यापी महाव्याधिका रूपमा फैलियो । चीनले बरु तीन महिना पुग्दा–नपुग्दै यसलाई धेरै हदसम्म नियन्त्रण गरेर आफ्नो अर्थतन्त्र र समाजलाई सक्रिय बनाउन सक्यो । बाँकी विश्व अहिले पनि यो महामारीको त्राससँग जुधिरहेको छ । संयुक्त राज्य अमेरिकामा मात्रै तीन लाख ३८ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ भने विश्वभर मृत्यु हुने मानिसको संख्या झन्डै १८ लाख हाराहारी पुगेको छ । यसैगरी विश्वभर अहिलेसम्म सवा आठ करोड मानिस यो रोगको संक्रमणमा परेका छन् । नेपालमा अहिलेसम्म साढे दुई लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् भने १८ सयभन्दा बढीको ज्यान गएको छ । 

यतिवेला युरोप कोभिडको दोस्रो चरणको सामना गरिरहेको छ । बेलायतमा देखा परेको विशेष किसिमको सक्रिय भाइरसले यतिवेला थप सन्त्रास फैलाइरहेको छ । यो रोगसँग जुध्न कुनै औषधि वा भ्याक्सिन नभएका कारण विश्वभरका सबैजसो सरकारले व्यक्ति–व्यक्तिबीचको सम्पर्कलाई नियन्त्रण गर्ने गरी कडा खालका लकडाउनको नीति अख्तियार गरे । यसले विश्भरको अर्थतन्त्रलाई गम्भीर धक्का दियो । सक्ने देशले आफ्ना नागरिकलाई बन्दाबन्दीको समयमा पनि भोकै मर्न नपरोस् भनेर केही व्यवस्था गरे भने कतिपय गरिब देशका झन् गरिब नागरिकले भोकमरी र सरकारी बेवास्ताको सिकार बन्नुपर्यो । नेपाल–भारतका विभिन्न गाउँबाट जीविकाको खोजीमा सहर प्रवेश गरेका लाखौँ–लाख गरिब श्रमजीवीहरू लकडाउनको मारमा परेर जीवन संकटमा परेपछि वैशाख–जेठको चर्को घाममा सयौँ किलोमिटरसम्म पैदल हिँडेर गाउँ फर्केका हृदयविदारक तस्बिरले हाम्रो विकासको अविवेकी असमानताको पोल खोलिदियो । 

राज्य र सरकार उनीहरूको जीवनप्रतिको दायित्व पूरा गर्नबाट पूरै चुके । सयौँ नेपालीले देशको सीमापारि आएर नेपाल सरकारसमक्ष गुहार माग्दा पनि गुहार नपाएका अनेकौँ सन्दर्भले आममानिसलाई लोकतन्त्रमा वास्तविक नागरिकको दुइटा वर्गबारे थाहा पाउन सक्ने गरी पर्दा उघारिदियो । संविधानले समान मानेका, कानुनका अघि समान भनिएका र समाजवादउन्मुख भनिएको सरकार भएको देशका नागरिक कसरी र कति धेरै असमान छन् भन्ने थाहा पाउन योभन्दा ठूलो घटना के नै हुन सक्थ्यो र ? त्यति मात्र होइन, यसले नेपालका राज्य सञ्चालकहरू कसरी आमविपत्तिलाई समेत आफ्नो खल्ती भर्ने अवसरका रूपमा प्रयोग गर्छन् भन्ने बदनाम उदाहरण पनि दिएर गयो । स्वास्थ्य क्षेत्रमा हाम्रो देशका कमजोरी उजागर गर्दै आगामी दिनमा राज्यले के–के सुधार गर्नुपर्ने हो भन्ने तस्बिर पनि सबैका सामु छर्लंग पारिदियो । विश्व अर्थतन्त्रमा आएको संकटले नेपालको पर्यटन, उद्योग, व्यापार र सानातिना रोजगारीका केन्द्रहरू पनि कसरी खुम्च्याइदिएको छ भन्ने हेर्न धेरै पर गइरहनुपर्दैन । कोभिड–१९ को प्रभाव अझै पनि हाम्रो चुलोमा स्पष्ट देखिने गरी जिउँदै छ ।

समष्टिगत अर्थतन्त्रका सूचक हेरेर परिवारको भान्सा–भान्सामा प्रवेश गरेको संकटको वास्तविक चित्र केलाउन असम्भवप्रायः छ, हाम्रो जस्तो अनौपचारिक अर्थतन्त्र बलियो भएको देशमा । कोरोनाको मारमा अरू क्षेत्र जस्तै सञ्चार क्षेत्र पनि पर्यो । नेपालमा सञ्चार क्षेत्रले अहिले पनि यसको प्रभावको चर्को सामना गरिरहेको छ । कतिपय पत्रिका बन्द हुने अवस्थामा पुगे भने कतिपय संकटसँग जुध्दै घस्रिरहेका छन् । यही वर्षको आखिरी महिनामा नेपालको सत्तारुढ दलको विभाजन र संविधानमाथि धाबा बोल्दै संसद् विघटन गरिएको घटनाले नेपालीलाई थप हतोत्साही बनाउनु स्वाभाविकै हो । धेरै कोणबाट हेर्दा यो वर्ष बिर्सन लायक रह्यो । आशा गरौँ, आगामी वर्ष मानव समुदायले यो समस्याबाट पार पाउनेछ र नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछ । नयाँ वर्षको सबैमा शुभकामना !

सम्पादकको रोजाइ

सुझावित समाचार