अंग्रेजी नयाँ वर्ष २०२१ मा देशैभर आन्तरिक पर्यटकको चहलपहल

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण
अंग्रेजी नयाँ वर्ष २०२१ मा देशैभर आन्तरिक पर्यटकको चहलपहल

सौरहा

कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्र यतिवेला आन्तरिक पर्यटकको चहलपलहले चलायमान भएका छन् । ठूला होटेलहरूमा ग्राहक नभए पनि उपत्यकाबाहिर पोखरा, सौराहा, नगरकोट, धुलिखेललगायतका क्षेत्रका होटेल भरिभराउ छन् । काठमाडाैंका रेस्टुरेन्टहरूमा ग्राहकको चाप बढेको छ ।

कोरोना महामारीले १० महिनाभन्दा बढी थला परेको पर्यटन क्षेत्रमा अंग्रेजी नयाँ वर्ष २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले देशभरका पर्यटकीय क्षेत्रमा चहल–पहल बढेको छ । कोभिड १९ का कारण विदेशी पर्यटक आगमन ठप्प भए पनि आन्तरिक पर्यटकका कारण उपत्यकाबाहिर भने गुलजार छाएको छ । काठमाडौं उपत्यकाका होटेलहरूमा चहलपहल नभए पनि रेस्टुरेन्टहरू भने भरिभराउ भएका छन् । 

काठमाडौंबाहिर मुख्य गरी पोखरा र सौराहामा काठमाडौंबाट घुम्न गएका आन्तरिक पर्यटकका कारण होटेलहरू भरिभराउ भएका छन् । त्यस्तै गरी मुक्तिनाथ, गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित पश्चिम क्षेत्रहरू धनगढी, नेपालगन्ज तथा पूर्व क्षेत्र इलामसम्म आन्तरिक पर्यटक बढेका छन् । जसले साना होटेलदेखि तारे होटेलहरूमा चहलपहल बढेको छ । 

पर्यटकहरूको घुमघाम बढेसँगै आन्तरिक एयरलाइन्सहरूले पनि भाडा केही बढाएका छन् । कोभिड १९ का कारण यात्रु नपाएपछि सस्तोमा टिकट बिक्री गरिरहेका एयरलाइन्सहरूले केही रकम बढाएका छन् । बुद्ध एयरले सामान्य अवस्थाकै हाराहारीमा पछिल्लो समय यात्रुलाई सेवा दिइरहेको छ । मंगलबार मात्रै बुद्ध एयरले एकै दिन ४७ सय यात्रुलाई सेवा दिएको थियो । यता अन्य एयरलाइन्सहरूले पनि ८५ प्रतिशत जहाजका सिट बिक्री गरिरहेका छन् । 

पोखरा

कोभिड–१९ को मारमा परेको पर्यटन क्षेत्रमा तत्काल विदेशी पर्यटक नआएपछि स्वदेशीकै भर पर्नुपर्ने अवस्था छ । यद्यपि, स्वदेशीकै भरमा पर्यटन क्षेत्र धान्न सक्ने अवस्था भने नरहेको व्यवसायीहरूको भनाइ छ । पर्यटकीय गन्तव्यलाई चलायमान बनाउनका लागि आन्तरिक पर्यटकलाई भारी सहुलियत दिइएकाले पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

काठमाडाैंका ठूला होटेलहरूमा प्रभाव नपरे पनि उपत्यकाबाहिर आन्तरिक पर्यटकको चहलपहलले नै भरिभराउ भएको होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । ‘कोभिड–१९ ले थला परेका व्यवसायीले सस्तोमै भए पनि व्यवसाय चलाउनका लागि आन्तरिक पर्यटकलाई प्याकेज बिक्री गरिरहेका छन्,’ शाहले भने ।

पर्यटकीय नगरी पोखरामा पनि आन्तरिक पर्यटकको चहलपहल बढेर गएको छ । पाराग्लाइडिङमा ५० प्रतिशतसम्म छुटको सुविधा दिइएको छ । कुश्मामा नयाँ बन्जी सुरु भएसँगै त्यहाँ पर्यटकको चहलपहल बढेको छ । होटेल मात्रै नभएर उपत्यकाबाहिर पर्यटनका अन्य गतिविधिमा पनि आन्तरिक पर्यटकले धानेको शाहले बताए । 

काठमाडौंका ठमेल, दरबारमार्ग, ललितपुरको झम्सिखेलसहितका रेस्टुरेन्ट तथा बारहरूमा नयाँ वर्षसँगै चहलपहल बढेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसनका अध्यक्ष अरनिकोराज राजभण्डारीले बताए । ‘केही दिनयता रेस्टुरेन्टहरूमा ग्राहकहरूको अत्यधिक चाप बढेको छ,’ राजभण्डारीले भने ।

काठमाडौं उपत्यकावरपर नगरकोट, धुलिखेल, ककनीलगायत क्षेत्रमा पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विदेशी पर्यटकहरूको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको ठमेलमा न्यु एयर इभको तयारी गरिएको छ । कोभिडका कारण लामो समयसम्म रात्रिकालीन व्यवसाय बन्द हुँदा सुनसान बनेको ठमेल अहिले केही चहलपहल हुन थालेको छ । ठमेलमा न्यु इयर इभमा विभिन्न सांगीतिक कार्यक्रम हुने गरेका थिए ।  

 लुम्बिनीका होटेलहरू १५% मात्रै अकुपेन्सी 
चैत ११ देखि बन्द रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनी ३ मंसिरदेखि खुला भएको छ । लुम्बिनी खुला भएसँगै पर्यटकहरूको चहल पहल बढेको छ । चैतदेखि ठप्प रहेको पर्यटन व्यवसाय बिस्तारै खुल्न थालेको होटल संघ नेपाल लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले बताए ।

तर, विगतका वर्षहरूका अंग्रेजी नयाँ वर्षमा शतप्रतिशत भरिभराउ हुने लुम्बिनीका होटेलहरू अहिले मुस्किलले १५ प्रतिशत भरिएको उनले बताए । ‘लामो समय होटेल बन्द गरेर बसेका व्यवसायीहरूका लागि यो पनि खुसीको कुरा हो’ उनले भने, ‘कम्तीमा होटेल खोलेर बस्ने अवस्था त सिर्जना भएको छ ।’

लुम्बिनीमा सानाठूला गरी ९६ वटा होटेल सञ्चालनमा छन् । ती होटेलहरूले एक दिनमा ४ हजार ५ सय पर्यटकलाई सेवा दिन सक्छन् । लुम्बिनी आउने आन्तरिक पर्यटक दिनभर घुम्ने र साँझ घर फर्किने हुँदा होटेलभन्दा रेस्टुरेन्ट व्यवसायलाई केही सहज भएको व्यवसायीहरूको भनाइ छ ।

लुम्बिनीमा अहिले आन्तरिक पर्यटक आगमनमा वृद्धि भएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । अन्तर्राष्ट्रिय नाका सञ्चालनमा नआएका कारण विदेशी पर्यटक आगमन भने न्यून छ । बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा शनिबारबाहेक अन्य दिनमा १५ सयसम्म दैनिक आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । शनिबार र बिदाका दिनमा पाँच हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् शाक्यले भने ।

 पोखरामा रेवान महोत्सव सुरु
प्रत्येक वर्षको अंग्रेजी नयाँ वर्षमा हुँदै आएको सडक महोत्सवको २२औँ संस्करण पोखरामा सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सव बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् । आयोजक रेवान पोखराका अनुसार कोरोना संक्रमणका बीच आयोजना गरिएको महोत्सवमा तडकभडक र तामझाम तथा मध्यरातमा आत्तिसबाजी हुनेछैन । गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा चारवटा स्टेज रहनेछन् ।

लुम्बिनी

सुन्तला, महलगायत हस्तकलाका गरी २० स्टल रहनेछन् । संक्रमणलाई मध्यनजर गर्दै पार्कमा यसपालि कार्यक्रम नगरिएको रेवान पोखराका पूर्वअध्यक्षसमेत रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । ‘विगतमा पार्कमा सांगीतिकलगायतका कार्यक्रम हुन्थे । यसपालि कोरोना संक्रमणलाई मध्यनजर गर्दै सडकमा कम जोखिम भएकाले सडकमा मात्र महोत्सव गर्ने निधो गरेका हौँ,’ उनले भने । 

पोखराका होटेलमा ५०% छुट, ३०% अकुपेन्सी 
पोखराका होटेलहरूले कोठामा ५० प्रतिशत छुटको सुविधा महोत्सव अवधिसम्म पनि कायम राखेका छन् । पोखरामा अहिले ३० प्रतिशत होटेल अकुपेन्सी रहेको हान पोखराका पूर्वअध्यक्ष रहेका होटेल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय भारतीय पर्यटकहरूको चहलपहल सुरु भएको छ । संघीय राजधानी काठमाडौं, चितवन, वीरगन्ज र नेपालगन्जबाट समेत पर्यटक आएका छन् । अंग्रेजी नयाँ वर्षका दिन होटेलहरूमा अकुपेन्सी ६० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

 चितवनमा पर्यटकलाई ४० प्रतिशतसम्म छुट 
लकडाउनले थला पारेको पर्यटन क्षेत्रले गति लिन थालेको चितवनका पर्यटन व्यवसायीहरूले बताएका छन् । तर, आन्तरिक पर्यटकहरू केही संख्यामा आउन थाले पनि यसले होटेलको नियमित खर्च धान्न पनि मुस्किल परेको उनीहरूको भनाइ छ । अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा सौराहा घुम्न आउने पर्यटकहरूलाई होटेल तथा रेस्टुरेन्टमा ४० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । अंग्रेजी नयाँ वर्षमा मनाइने हात्ती महोत्सव यसपटक कोभिडकै कारण रोकिएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । 

अंग्रेजी नयाँ वर्षमा समेत उस्तै सौराहा
हरेक समय पर्यटकले भरिभराउ सौराहामा यसपटक अंग्रेजी नयाँ वर्षको संघारमा समेत व्यवसायीहरू घाटामा रहेको क्षेत्रीय होटेल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । चितवनका होटेल व्यवसायीहरूले दैनिक १ करोड ३० लाख घाटा व्यहोर्नु परिरहेको उनको भनाइ छ ।

विगतका वर्षहरूमा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत विदेशी पर्यटकलाई सहित सबै होटेल भरिभराउ हुने गर्थे । उनले भने ‘हाम्रो ध्यान अहिले नाफाभन्दा पनि व्यवसाय टिकाउन मात्र छ । केही दिनयता आन्तरिक पर्यटकको संख्या बढ्दै छ, हेरौँ सहज अवस्था एक दिन पक्कै आउनेछ ।’   

‘घुमौँ सौराहा’ अभियान
सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुमौँ सौराहा’ अभियान चलाइएको छ । अभियानका संयोजक सुमन घिमिरेका अनुसार पहिलो चरणमा प्रदेश १ र प्रदेश २ का विभिन्न सहर पुगेर सौराहा आउन निम्तो दिइएको थियो । १० पुसदेखि सुरु गरिएको अभियानमा प्रदेश १ र २ मा सम्पन्न भएको छ । यो अभियान सातवटै प्रदेशमा सञ्चालन हुने घिमिरेले बताए । 

पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार चितवनमा १२ सय ५० सामान्य होटेल तथा लज छन् । त्यसमध्ये २ सय २५ होटेल बाह्य पर्यटकहरू राख्ने क्षमताका छन् । यस्तै, कफिसप, चियापसल र खाजाघर करिब १५ सयवटा छन् । यी सबैमा सिजनको समयमा दैनिक ३ करोड कारोबार हुने गरेको थियो ।

चितवनमा पर्यटकीय होटेलमा ३० अर्ब लगानी छ । यसमध्ये आधाभन्दा बढी लगानी सौराहामा छ । निकुञ्ज घुम्नेमध्ये ९० प्रतिशत पर्यटक सौराहा आउँछन् । करिब ५५ सय पर्यटक सुत्न मिल्ने सुविधा सौराहामा छ । सौराहा क्षेत्रमा मात्रै १ सय २० वटा होटेल छन् ।
 

भैरहवाबाट दिपेश पछाई, पोखराबाट गोविन्द सुवेदी, चितवनबाट विवेक पोखरेल र काठमाडौंमा केदार दाहाल 

सुझावित समाचार