चीनको राजनीतिक सक्रियता तीव्र, आर्थिक सक्रियता ठप्प

नेकपामा विभाजन सुरु भएपछि बेइजिङबाटै उच्चस्तरीय नेता पठाएर काठमाडौंमा राजनीतिक गतिविधि बढाएको चीनको सहयोगमा निर्माणाधीन परियोजनाको प्रगति भने ठप्प छ

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण
चीनको राजनीतिक सक्रियता तीव्र, आर्थिक सक्रियता ठप्प

निर्माणाधीन भैरवहा विमानस्थल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि नेपालमा राजनीतिक सक्रियता तीव्र बनाएको चीनका आर्थिक गतिविधि भने एक वर्षदेखि ठप्प छन् । विश्वव्यापी कोभिड–१९को महामारी सुरु भएयता नेपाल–चीन आर्थिक साझेदारीका अधिकांश परियोजना बन्द अवस्थामा छन् ।

चीनले कोभिडको कारण देखाउँदै अन्तरदेशीय रेलको अध्ययनदेखि चक्रपथ विस्तार, सुख्खा बन्दरगाह निर्माणलगायतका थुप्रै आयोजनाको काम रोकेर राखेको छ । त्यति मात्रै होइन, चीनसँगका प्रमुख दुई व्यापारिक नाका पनि एकदमै न्यून मात्रामा मात्रै खोलेको छ ।

नेपालले चिनियाँ सहयोगका परियोजना अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि कोभिडको कारण देखाउँदै चीन पन्छिँदै आएको अर्थ मन्त्रालयका एक अधिकारीे बताए । ‘चीनले पछिल्ला समयमा राजनीतिक भेटघाट, भ्रमण तथा छलफल अघि बढाए पनि आर्थिक गतिविधि भने यथास्थितिमा राखेको छ’ उनले भने । 

कोभिडको कारण देखाउँदै चिनियाँ अध्ययन टोली नेपाल नआउँदा नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढ्न सकेको छैन । कोभिडकै कारण देखाउँदै चीनले उत्तरी क्षेत्र विकास कार्यक्रमसमेत अघि बढाएको छैन । चीनसँग सीमा जोडिएका १५ जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने विकास कार्यक्रम कोभिडकै कारण अन्योलमा परेको छ ।

टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि समझदारी भए पनि काम सुरु भएको छैन । चिनियाँ सहयोग आयोजनाको दोस्रो चरणको विस्तारअन्तर्गत कलंकी–महाराजगन्ज–चाबहिलसम्मको ११ किलोमिटर विस्तार काम चालू आर्थिक वर्षदेखि सुरु गर्ने तयारी थियो । तर, पूर्वतयारी लगभग सकिए पनि चिनियाँ पक्ष नआउँदा काम सुरु हुन सकेको छैन ।

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणका लागि ४ मंसिर २०७६ मा सिलान्यास भयो, केही समय काम पनि भयो । तर, अहिले निर्माणले गति लिन सकेको छैन, काम ठप्प छ । स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिको काम पनि रोकिएको छ ।

चिनियाँ प्राविधिक नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाइटिङ, सेन्ट्रल एसी जडानलगायत प्राविधिक काम रोकिएको छ । कोभिडकै कारण देखाउँदै भक्तपुरमा वीर अस्पताल निर्माण तथा मदन भण्डारी प्राविधिक विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि समेत चिनियाँ टोली आएका छैनन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामबाहेक चिनियाँ सहयोगका अधिकांश परियोजना एक वर्षदेखि ठप्प रहेको सरकारी अधिकारले औँल्याएका छन् । 

 राजनीतिज्ञ आए, कामदर आएनन्
कोभिड महामारीकै बीच चीनले राजीतिक गतिविधि भने बढाएको देखिन्छ । मुलुकमा राजनीतिक विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उच्च तहका नेतासँगको भेटलाई तीव्रता दिने गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि चिनियाँ राजदूत यान्छीले गत साताको बिहीबार र शुक्रबार नेकपाका चार नेतासँग भेट गरिन् ।

बिहीबार सुरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अपराह्न नेता वर्षमान पुनसँग भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल र नेता कृष्णबहादुर महरासँग भेटिन् । त्यतिमात्रै होइन, चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल अहिले नेपाल भ्रमणमा छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल चारदिने भ्रमणका लागि एयर चाइनाको चार्टर्ड विमानमा १२ पुसमा काठमाडौं आएको हो । त्यसअघि चिनियाँ रक्षामन्त्री जनरल वेई फेंगेले १४ मंसिरमा नेपाल भ्रमण गरेर फर्केका थिए । 

यसबीचमा चीनबाट उच्चस्तरीय राजनीतिज्ञको भ्रमण पटकपटक भए पनि कामदार भने सीमित  मात्रामा मात्रै आएका छन् । यो आर्थिक वर्ष सुरु भएयता साउनदेखि मंसिरसम्म ५ सय ७६ जना चिनियाँ नागरिक नेपालमा भित्रिएको अध्यागमन विभागको तथ्यांक छ । यसमा दूतावासका कर्मचारीदेखि पर्यटक, राजनीतिज्ञ तथा चिनियाँ व्यवसायी र सीमित मात्रामा मजदुर रहेका छन् । खासगरी चिनियाँ प्राविधिक तथा कामदार नआउँदा चिनियाँ सहयोगका परियोजना अघि बढ्न नसकेको सम्बन्धित परियोजनाले जनाएका छन् । 

 केरुङ–काठमाडौं रेलमार्ग अध्ययन अझै सुरु भएन
२५–२६ असोज ०७६ मा भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । सोहीअनुरूप दुई देशबीच १० मंसिर ०७६ मा कामको बाँडफाँड गरेर दुई वर्षभित्र सम्भाव्यता अध्ययन सक्ने तय गरियो । तर, कोभिडलाई बहाना बनाउँदै चिनियाँ अध्ययन टोली अझै नेपाल आएको छैन ।

चीनले केरुङ–काठमाडौं रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली आउन अझै ढिलाइ हुने जनाएको छ । दुई वर्षमा सक्ने भनिएको रेलमार्गको सम्भाव्यता अध्ययन मिति तय भएको एक वर्ष बितिसक्दा सुरुसमेत भएको छैन । द्विपक्षीय सहमतिमा सवै प्राविधिक कामको अध्ययन चीनले गर्ने र लागत पनि उसैले व्यहोर्ने उल्लेख छ ।

डिपिएस प्रतिवेदन तयार गर्न ३ अर्ब लाग्ने अनुमान छ । नेपालले भने स्थानीयसँग सम्बन्धित मुआब्जा, बस्ती व्यवस्थापनलगायत जिम्मेवारी व्यहोर्नुपर्नेछ । यसअघि नै चिनियाँ पक्षले आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सकेर नेपाल सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार यो रेलमार्ग नेपाली भूभागमा मात्र ७२ किलोमिटरको हुनेछ । अधिकांश भागमा सुरुङ र पुल रहने रेलमार्गको अनुमानित लागत ३ खर्ब रुपैयाँ छ । 

 टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन अनिश्चित
चिनियाँ टोली नआउँदा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन पनि अनिश्चित भएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणमा दुई देशबीच अन्तरआबद्धतालाई वृद्धि गर्न काठमाडौं–केरुङ सडकमा पर्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने समझदारी भएको थियो । तर, चिनियाँ पक्षले कोभिडका कारण देखाउँदै काम सुरु गरेको छैन ।

यसअघिको कार्यतालिकाअनुसार २०७६ चैतभित्रै पूर्वसम्भाव्यता अध्ययन पूरा गर्ने लक्ष्य थियो । तर, कोभिडका कारण काम रोकियो । अघिल्लो वर्ष पुस २०७६ मा नौजनाको चिनियाँ प्राविधिक टोलीले स्थलगत पूर्वसम्भाव्यता अध्ययन गरेका थिए । सो टोलीले एक साता स्थलगत अध्ययन गरेर काठमाडौं फर्किएपछि विभिन्न निकायसँग तथ्यांक संकलन गरेको थियो । 

 चक्रपथ विस्तार पूर्वतयारी सकियो निर्माण सुरु भएन
चिनियाँ सहयोग रहेको काठमाडौं चक्रपथको दोस्रो चरणको विस्तार आयोजनासमेत अघि बढ्न सकेको छैन । कलंकी–महाराजगन्ज–चाबहिलसम्मको ११ किलोमिटर विस्तार काम चालू आर्थिक वर्षदेखि सुरु गर्ने तयारी थियो । पूर्वतयारी लगभग सकिए पनि कोरोनाका कारण देखाउँदै चिनियाँ पक्षले विस्तारको काम सुरु गरेको छैन । आयोजना विस्तारको रेखांकन (डिजाइन) अझै चिनियाँ पक्षले तयार गरिसकेको छैन । त्यो डिजाइनलाई नेपाली पक्षले स्वीकृत गरेपछि मात्र विस्तारको काम अघि बढ्नेछ ।

 टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ठप्प
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अहिले ठप्प छ । साढे दुई वर्षमा सक्ने भनेर गत वर्ष शिलान्यास गरिएको रसुवा सुक्खा बन्दरगाहको प्रगति १० प्रतिशतको हाराहारीमा मात्रै छ । निर्माणको जिम्मा पाएको चीनको तिब्बतस्थित टिबेट फुली कन्स्ट्रक्सन ग्रुप लिमिटेडले कोभिड महामारी सुरु भएदेखि नै काम रोकेको हो ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिले काम सुरु गर्न बारम्बार पत्राचार गर्दै आएको छ । नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । ८ दशमलव ५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहका लागि करिब १२ करोड ४० लाख चिनियाँ युआन अर्थात् १ अर्ब ९८ करोड नेपाली रुपैयाँको लागत लाग्नेछ  ।

 एक वर्षदेखि नाका एकतर्फी मात्रै खुला
चीनले अघोषित रूपमा एकतर्फी नाकाबन्दी गरेको झन्डै एक वर्ष पुग्न लागिसकेको छ । कोभिड सुरु भएपछि माघ २०७६ देखि नेपाल–चीन व्यापार प्रभावित भयो । लकडाउन भएपछि व्यापार ठप्प नै भयो । लकडाउनकै बीच नेपाल–चीनबीचको नाका व्यापारिक प्रयोजनका लागि खोल्ने निर्णय भयो । तर, चीनले नाका एकतर्फी मात्रै खोल्यो, नेपाली व्यवसायी तथा मजदुरलाई मात्रै होइन नेपाली कन्टेनर र मालवस्तुलाई पनि चीनले प्रवेश दिएन ।

त्यसयता नेपालले चिनियाँ नाका हुँदै चीन र विश्व बजारका वस्तु आयात गरे पनि सोही मार्ग हुँदै निर्यात भने गर्न सकेको छैन । पछिल्ला पाँच महिनायता नेपालमा चिनियाँ नाका हुँदै झन्डै ६ अर्ब रुपैयाँबराबरका सामग्री भित्रिए । तर, नेपाली वस्तुले निर्यातका लागि चिनियाँ मार्ग उपयोग गर्न पाएनन् । यो पाँच महिनामा चिनियाँ नाका हुँदै चीन र विश्व बजारमा नेपालले एक रुपैयाँको पनि निर्यात गर्न सकेन । उत्तरी छिमेकी चीनले अघोषित रूपमा एकतर्फी नाकाबन्दी गरेपछि चिनियाँ नाका हुँदै चीन र विश्व बजारमा निर्यात गर्न नेपाल वञ्चित भएको छ ।

 उत्तरी क्षेत्र विकास कार्यक्रम अन्योलमा 
कोभिडकै कारण देखाउँदै चीनले उत्तरी क्षेत्र विकास कार्यक्रमसमेत अघि बढाएको छैन । चीनसँग सीमा जोडिएका १५ जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने विकास कार्यक्रम कोभिड–१९का कारण अन्योलमा परेको हो । स्थानीय तहले प्रस्ताव गरेको आयोजना छनोट भए पनि चिनियाँ पक्षले त्यसलाई कार्यान्वयन गर्ने नगर्ने अझै टुंगो लगाएको छैन । ‘उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम’को नाममा चीनले एक सय २६ स्थानीय तहमा २० करोड आरएमबी सहयोग गर्ने सम्झौता अघिल्लो वर्षमै भएको हो । गत आवमै उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी गरिएको थियो । 

सुझावित समाचार