नेप्सेमा झिनो सुधार

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार भएको छ । दिनभर उच्च उतारचढाव देखिएको बजार अन्ततः बढेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक ८ दशमलव ५७ अंकले बढेर २ हजार ७ मा पुगेको हो । लाभांश प्राप्त गर्ने मौसम सकिन थालेसँगै बजार सुस्ताउन थालेको छ । कारोबार रकम दैनिक ओरालो लाग्न थालेको छ । यस दिन पनि कारोबार रकम ३ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ । 

कम्पनीहरूको लाभांश समायोजनसमेत चलिरहेको छ । समायोजनका कारण घटेको मूल्यमा उच्च वृद्धिको सम्भावना कम छ । यस दिन कारोबारमा आएका २ सय १४ धितोपत्र र ऋणपत्रमा ४२ वटाको १ प्रतिशतभन्दा कमले मूल्य बढेको छ । कुल ९१ वटाको मूल्य बढेर कारोबार भएको हो । ८१ वटाको भने मूल्य घटेर कारोबार भएको छ ।  

कारोबारमा आएकामध्ये व्यापारमूलक, विकास बैंक र ‘अन्य’ समूहको परिसूचक मात्र घटेको छ । यस दिन मुक्तिनाथ विकास बैंकको बोनस सेयर समायोजन भएको छ । बैंकले ११ दशमलव २५ प्रतिशत बोनस दिएको हो । १० प्रतिशत बोनस सेयर दिएको सानिमामाई हाइड्रोको पनि मूल्य समायोजन भएको छ ।  

सेन्ट्रल फाइनान्सको सेयर मूल्य भने करिव १० प्रतिशतले वढेको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । कम्पनीको सेयर मूल्य सोमबार करिब १० प्रतिशतले वृद्धि भएको हो । केही समय घटेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पुनः उकालो लाग्न थालेको छ । बैंकको मूल्य पनि करिब १० प्रतिशतले बढेको हो । समस्याग्रस्तबाट तंग्रिनसकेको कम्पनीले हकप्रद दिने भएपछि लगानीकर्ता कम्पनीमा आकर्षित भएका हुन् । 

राधी जलविद्युत्, एनसिसी बैंकको मूल्य पनि करिब ६ देखि ७ प्रतिशत बढेको हो । मूल्य केही सस्तिएसँगै नेपाल लाइफ इन्स्योरेन्समा पुनः लगानीकर्ता आकर्षित भएका छन् । कम्पनीले अघिल्लो आवबाट ५१ प्रतिशत लाभांश दिएको थियो । गत आवबाट लाभांश दिन बाँकी रहेको भन्दै लगानीकर्ता आकर्षित भएका हुन् । कम्पनीको मूल्य यस समूहकै सबैभन्दा उच्च छ ।

अघिल्लो दिनको अन्तिम मूल्यबराबर नै रहेको कम्पनीको सेयर किनबेच भयो । नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा जोडिएको छ । यसअघिसम्म ७ दिने रेखा माथि थियो । क्रसओभर भएमा बजार घट्न सक्छ । यसमा ध्यान दिनु सही हुने देखिन्छ ।

See More On

सुझावित समाचार