सदिनालाई बास्केटबल नै सबथोक

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

सदिना श्रेष्ठले बास्केटबल खेल्न थालेको १५ वर्षभन्दा बढी भइसकेको छ । उनी राष्ट्रिय टिमकी कप्तानसमेत हुन् । ३० वर्षकी उनलाई नेपाली महिला बास्केटबलकी सक्कली अनुहार भन्दा पनि हुन्छ । उनकै नेतृत्वमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला बास्केटबलतर्फ रजत जितेको थियो ।

नेपाली महिला टिमले सागमा बास्केटबल खेलेको पहिलो अवसर थियो । फाइनलमा नेपाल भारतसँग रोकियो । खेल सकिँदा खेलाडीको अनुहारमा निराशा भन्दा पनि खुसी देखिन्थ्यो । रजत पदक आफैँमा ऐतिहासिक भएकाले पनि सबै खुसी देखिन्थे ।

सदिना यसपल्टको पल्सर स्पोर्टस् अवार्ड २०७६ को लोकप्रिय विधाका एक प्रत्यासी हुन् । झलक्क हेर्दा उनलाई विश्व टेनिसकी खेलाडीजस्ती लाग्छ, सुनौला लामा कपाल, पूर्णतः फिट शरीर । उनी कुनै सिनेमाको कलाकारजस्तो पनि देखिन्छिन् ।

उनले यसका लागि प्रस्ताव नपाएको पनि होइन, तर उनका लागि बास्केटबल नै सबथोक हो । उनी आप्mनो टिमले जितेको रजत पदक निकै महत्वपूर्ण भएको धारणा राख्छिन् । खासमा उनी प्राकृतिक रूपमा कप्तान सम्हाल्नेखाले खेलाडी हुन्, अथवा भनौँ ‘बर्न लिडर’ । उनी व्यवस्थापनकी विद्यार्थी हुन्, त्यसमा ‘लिडरसिप’बारे राम्रैसँग पढ्नुपर्छ । कप्तानले केके गर्नुपर्छ, आप्mनो टिमलाई अभिप्रेरित गर्न केकस्तो गर्नुपर्छ ? उनी ती सबैको ख्याल राख्छिन् । अनि प्रत्येकपल्ट आप्mनो होइन, आप्mनो टिमबारे बोल्छिन् ।

जुन दिन सदिना लोकप्रिय खेलाडी विधामा मनोनयनमा परिन्, उनको भनाइ थियो, ‘यो मेरो होइन, हाम्रो टिमको उपलब्धि हो ।’ उनको फेसबुक प्रोफाइल यसो पल्टाउनुपर्छ, उनी खालि ‘हाम्रो टिम, हाम्रो टिम’ मात्र भनिरहेकी हुन्छिन् । यो नै उनको मुख्यः विशेषता हो । ललितपुर पुल्चोकको रैथाने परिवारमा हुर्केबढेकी सदिना सुरुमा फुटबलकी खेलाडी थिइन्, त्यहाँ एउटा अवसर गुमेपछि बास्केटबलतर्फ लागिन् ।

उनी निकै इखालु खेलाडी पनि हुन्, उनी मनैमन केही गर्नुछ भनेर रोज्छिन् भने त्यसो गरेर नै छाड्छिन् । यही ईख गर्ने बानीले उनी यहाँसम्म पुगेकी हुन् भन्दा पनि फरक पर्दैन । उनको परिवार पनि खेलमय छ । परिवारका धेरै सदस्य नेपाली खेलकुदमा कुनै न कुनै रूपमा जोडिएका छन् । उनी खेल्न छाडेपछि पनि बास्केटबलसँग जोडिरहने इच्छा राख्छिन् । किनभने उनलाई यो क्षेत्रमा धेरै गर्नु छ । 

सुझावित समाचार