ललितपुरको सैंबुमा टुहुरा र कमजोर आर्थिक अवस्थाका विद्यार्थी पढाउनका लागि भनेर तीन वर्षदेखि डायनामिक पब्लिक स्कुल सञ्चालनमा छ । तर, यो स्कुल न कतै दर्ता छ न त स्कुलको अनुगमन हुन्छ । विदेशी नागरिकले सञ्चालन गर्दै आएको स्कुलको उद्देश्य कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई शिक्षासँगै क्रिस्चियन बनाउने रहेको पाइएको छ ।
यो स्कुल ३७ वर्षीया युक्रेनी नागरिक एन्टोनिना डोमासेन्कोले सञ्चालन गर्दै आएकी छिन् । सैंबुमा उनको समाजसेवीको छवि थियो । स्कुलमा कहाँबाट स्रोत आउँथ्यो भन्नेबारे स्थानीय अनभिज्ञ थिए । अध्यागमन विभागले गरेको अनुसन्धानमा खुलेको छ– योे स्कुलका नाममा युरोपका चर्चहरूबाट पैसा आउने गरेको छ । शिक्षाका नाममा क्रिस्चियन धर्म प्रचारका लागि यो विद्यालय स्थापना गरिएको विभागको अनुसन्धानमा पुष्टि भएको छ ।
विद्यार्थी भिसामा सन् २०१५ देखि नेपालमा बस्दै आएकी उनले विद्यालयको आवरणमा धर्म प्रचार गर्दै आएको पाइएको हो । नेपालको कानुनविपरीत धर्म प्रचार गरेर भिसाको समेत दुरुपयोग गरेको पुष्टि भएपछि उनलाई गृह मन्त्रालयले नेपालबाट निष्कासन गर्न लागेको छ । ‘हाम्रो अनुसन्धानको क्रममा उनले धर्म प्रचार गरेको पुष्टि भयो,’ अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले भने, ‘उनको पासपोर्ट जफत गरेका छौँ, नेपालबाट निष्कासनसम्बन्धी निर्णयका लागि गृह मन्त्रालयमा पठाएका छौँ ।’
विद्यार्थी भिसाको प्रयोजनका लागि उनी काठमाडौं विश्वविद्यालयमा भर्ना भएकी थिइन् । पर्यटक भिसामा बस्दा एक वर्षमा बढीमा एक सय ५० दिन मात्र बस्न पाइने भएकाले वर्र्षभरि बस्न उनले विद्यार्थी भिसा लिएकी हुन् । धर्म प्रचारकै उद्देश्यका लागि उनले विद्यार्थी भिसा लिएको विभागको छानबिनमा खुलेको छ । उनी श्रीमान् र तीन बच्चासहित भैंसेपाटीमा बस्दै आएकी छिन् ।
अध्यागमनले उनको आम्दानीको स्रोतबारे समेत छानबिन गरेको थियो । जसमा युरोपका क्रिस्चियन धर्मसम्बन्धी संघसंस्था र चर्चबाट सीधै उनको बैंकखातामा पैसा आउने गरेको देखियो । सिद्धार्थ बैंकमा रहेको उनको खातामा १२ लाख रुपैयाँ भेटिएको अनुसन्धानमा आबद्ध एक कर्मचारीले बताए । नेपालका टुहुरा बालबालिकाको सहयोगका लागि भनेर द वे अफ मेर्सी नाममा उनले चन्दासमेत उठाउने गरेको विभागले जनाएको छ । स्कुलमा उनले क्रिस्चियन धर्मबारे पढाउने गरेको अनुसन्धानमा पुष्टि भएको छ । कतै दर्ता नगरी स्कुल चलाउँदासमेत स्थानीय तहले कुनै चासो नदिएको विभागका अधिकारी बताउँछन् ।
यसरी विद्यार्थीका रूपमा नेपालमा बसेर धर्म प्रचारलगायतका गतिविधिमा संलग्न विदेशीको संख्या ठूलो रहेको विभागको आकलन छ । बेल्जियमका एक जोडी पनि लामो समयदेखि नेपालमा बसेर धर्म प्रचारमा संलग्न भेटिएका विभागका निर्देशक टेकनारायण पौडेलले बताए । स्भेन वाल्टर एम डिकास्टे इके र इभिलियन लुसिनी क्लाइसले पाँचथरमा बसेर क्रिस्चियन धर्म प्रचार गर्दै आएको विभागले जनाएको छ । सन् २०१४ देखि उनीहरू नेपालमा बस्दै आएका छन् । उनीहरू पनि अध्ययन भिसामा नै बसेर धर्म प्रचारको गतिविधिमा संलग्न देखिएको पौडेलले बताए । उनीहरूको पनि पासपोर्ट जफत गरेर निष्कासनसम्बन्धी निर्णय गर्न गृह मन्त्रालयलाई विभागले प्रस्ताव गरेको छ ।
गैरपर्यटक भिसामा नेपालमा बसेका अन्य विदेशीसमेत धर्म प्रचारमा संलग्न रहेको सूचनाका आधारमा विभागले छानबिन अघि बढाएको छ । नुवाकोटको त्रिशूली र चितवनको भरतपुरमा व्यवसायको आवरणमा बस्दै आएका कोरियन नागरिक पनि धर्म प्रचारमा लागेको देखिएपछि अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।
गत वर्ष मात्र विभागले विद्यार्थी भिसामा बसेर पोखरामा धर्म प्रचारमा संलग्न दुई जापानी नागरिकलाई पक्राउ गरी निष्कासन गरेको थियो । बिजनेस भिसामा बसेर धर्म प्रचार गर्नेहरूलाई समेत कारबाही गरिएको विभागले जनाएको छ । फितलो अनुगमनका कारण गाउँगाउँमा गएर समाजसेवाको आवरणमा विदेशीहरूले धर्म प्रचारसम्बन्धी गतिविधि गर्दै आएको यी प्रतिनिधि घटनाले देखाएको छ ।
एक हजार नौ सय विदेशी अध्ययन भिसामा
नेपालमा एक हजार नौ सय विदेशी अध्ययन भिसा लिएर बसेका छन् । अनुगमन नहुँदा त्यसमध्ये थोरै मात्र अध्ययनमा र धेरै अन्य गतिविधिमा लाग्ने गरेका छन् ।
विभागका अनुसार सन् २०१९ मा नेपालमा एक हजार नौ सय २७ जनाले अध्ययन भिसा लिएका थिए । सन् २०२० मा पनि कोरोनाका कारण धेरै विदेशी फर्किएका छन् । महामारीमा पनि विद्यार्थी भिसा लिएका एक सयभन्दा धेरै नेपालमै बस्दै आएका छन् ।
अध्ययन भिसामा आउने विदेशीका परिवारलाई समेत यही भिसा दिइन्छ । ‘कतिपय नामै नसुनेका कलेजमा भर्ना हुन्छन्,’ विभागका एक अधिकारी भन्छन्, ‘नेपाल बस्नकै लागि मात्र अध्ययन भिसा लिनेहरू छन् कि जस्तो लागेर छानबिन थालेका छौँ ।’ नेपाल आउने विदेशमध्ये धेरैले विश्व भाषा क्याम्पसमा भर्ना गर्छन् । अध्ययन भिसामा आएकाहरूमाथि निगरानी गर्ने संयन्त्र नहुँदा पनि यस्तो भिसाको दुरुपयोग भइरहेको छ ।
सन् २०१८ मा दुई हजार एक सय ७६ र सन् २०१७ मा एक हजार सात सय ८७ जनाले नेपालमा अध्ययन भिसा लिएको विभागको तथ्यांक छ ।
एक वर्षमा एक सय ९६ विदेशी निष्कासित
सन् २०२० मा नेपालबाट एक सय ९६ जना विदेशी निष्कासनमा परेका छन् । जसमध्ये एक सयजना ओभरस्टेसम्बन्धी अपराधमा कारबाही भोगी निष्कासनमा परेका हुन् । ९६ जना भने अन्य अपराधमा पक्राउ परेर सजाय भोगी छुटेका व्यक्ति छन् ।
नेपालबाट निष्कासनमा पर्नेहरूमा धेरैजसो ओभरस्टेसम्बन्धी अध्यागमन अपराध मिच्नेहरू हुने गर्दथे । सन् २०२० मा सरकारले कोरोना महामारीका कारण ओभरस्टे बस्नेहरूलाई कारबाही नगर्ने निर्णय गरेको थियो । अघिल्ला वर्षको तुलनामा यो वर्ष निष्कासित हुनेको संख्या कम छ । कोरोना महामारीका कारण यो वर्ष विदेशी नै कम आएकाले यो संख्या घटेको हो ।
सन् २०१९ मा ६ सय ७१ जना विदेशी नेपालबाट निष्कासित भएका थिए । जसमध्ये चार सय २१ त चिनियाँ मात्र थिए । नेपालमा बसेर आपराधिक गतिविधिमा संलग्न एक सय २२ चिनियाँलाई गत वर्ष एकैपटक पक्राउ गरी चीनले चार्टर्ड प्लेनमा आफ्नो देश लगेको थियो ।