अदालतले संविधानसम्मत निर्णय नगरे देशमा जंगी शासन आउन सक्छ : गुरुङ

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको विपक्षमा आदेश दिएर संविधानको रक्षा गर्ने बताएका छन् । 

प्रधानमन्त्रीको कदमले संविधान नै खतरामा परेको भन्दै उनले आदालतप्रति आफूहरूको विश्वास रहेको बताए । 

सोमबार पोखरामा नेकपा प्रचण्ड–नेपाल समूहको गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । कथंकदाचित सर्वोच्चले ओलीको कदम सदर गरे देशमा संविधान मर्ने र जंगे शासन सुरु हुने विश्लेषण गरे । 

प्रधानमन्त्री केपी ओलीकाे तानाशाही र फासीवादी चिन्तन साम्राज्यवादीहरूका लागि ‘ढुंगो खोज्दा देउता मिलेजस्तो’ भएको भन्दै उनले ओलीलाई साम्राज्यवादीहरूले नै प्रयोग गरेको अर्थ्याए । 

‘प्रधानमन्त्री केपी ओलीको तानाशाही, फासीवादी र एकाधिकारवादी शैली साम्राज्यवादीहरूलाई ढुंगो खोज्दा देउता मिलेजस्तो भएको छ,’ उनले भने ।

साम्राज्यवादीहरूको इच्छापूर्ति गर्न कम्युनिस्ट पार्टी र उनीहरूको वर्चस्व रहेको संसद् ध्यस्त पार्नु थियो भन्दै उनले त्यसमा ओली प्रयोग भएको विश्लेषण सुनाए । गुरुङले प्रधानमन्त्री ओली संविधानका सबै प्रावधान ध्वस्त पार्न लागिपरेको आरोप लगाए । 

‘उहाँ संविधानका सबै प्रावधान ध्वस्त पर्ने प्रयासमा हुनुहुन्छ’ भन्दै उनले एकपछि अर्को कदम चाल्न प्रधानमन्त्रीले खोजिरहेको र चुनाव गराउने नियत नै नरहेको उल्लेख गरे ।

अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पूरा गर्न संसद् विघटन गरेकाे बताए ।

सुझावित समाचार