नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोलीले आज नेकपाका प्रचण्ड–नेपाल समूहका शीर्ष नेतृत्वसँग भेटघाट गर्दै छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको चिनियाँ टोलीले आज सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
दाहालनिवास खुमलटार पुगेर टोलीले छलफल गरेको हो ।
चिनियाँ टोलीकाे आज नै नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट भएकाे छ । उनीहरूबीच हाेटेल एभरेस्टमा छलफल भएकाे जनाइएकाे छ ।
त्यसैगरी आज नै यस टोलीले नेता झलनाथ खनालसँग पनि भेट्दै छ ।
यसअघि हिजो यस टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेट गरी छलफल गरिसकेको छ ।
यस टोलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको सदभावसहित विभाजित भएको नेकपालाई मिलाउने प्रयास गर्ने जनाइएको छ ।
सत्तारुढ दल नेकपामा द्वन्द्व चर्केर पार्टी विभाजन भई औपचारिक रूपमा घोषणा मात्र गर्न बाँकी रहेको सन्दर्भमा चीनबाट उच्चस्तरीय टोली आएको हो ।