नेप्से दुई हजारमुनि ओर्लियो

कमिसन नघटाउन ब्रोकरको दबाब, अझै घटाउनुपर्ने लगानीकर्ताको माग

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

आइतबारबाट ३३ प्रतिशतले ब्रोकर कमिसन घटे पनि बजार भने सुधारमा देखिएन । नेप्से परिसूचक करिब ४० अंकले घटेर १ हजार ९ सय ९८ बिन्दुमा  ओर्लिएको छ ।  

यस दिन कारोबार रकम पनि केही घटेर ४ अर्ब ६६ करोडमा सीमित भएको छ । कारोबार सुरु भएको केही समयपछि बढ्ने प्रयासमा देखिएको नेप्से सफल भने हुन सकेन । कारोबारमा आएका सबै समूहगत परिसूचक घटेको छ । २ सय ४ धितोपत्र तथा ऋणपत्रमा ३१ वटाको बढेको र १ सय ५१ वटाको मूल्य घटेको छ । 

अहिलेको कमिसन दर ठीक नभएको र दुई–चार दिनको कारोबार हेरेर मात्रै दर घटाउन नहुने भन्दै ब्रोकरहरू कारोबार सुरु भएको पहिलो सत्रमै धितोपत्र बोर्ड पुगेपछि बजार ओरालो लाग्न थाल्यो । 

धितोपत्र बोर्डले अहिले कार्यान्वयनमा आएको कमिसन दरमा पुनरावलोकन नगरिने स्पष्ट पारेको छ । ‘हामीले कमिसन दर यथावत् नै राख्नेछौँ,’ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘उहाँहरूलाई थप भूमिका दिन सकिने विषयमा भने पुनर्विचार गर्न सकिन्छ भनेका हौँ ।’ बोर्डले यसअघि वैशाखबाट ब्रोकरहरूको जिम्मेवारी थप्न सक्ने गरी काम भइरहेको बताएको थियो । लगानीकर्ता संघहरूले भने यही दर कायम गर्न ब्रोकरले दबाब दिएको भए पनि आफूहरूले पनि थप दबाबका कार्यक्रम अघि सार्ने बताएका छन् । 

‘ब्रोकरहरूले यो विरोध, विरोधकै लागि मात्र गरेका हुन्,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, ‘यही दरलाई कायम गराउने प्रयास उनीहरूको हो, जुन हामीलाई स्वीकार्य छैन ।’

लगानीकर्ताले भने कमिसन दर अधिकतम शून्य दशमलव २५ प्रतिशतभन्दा धेरै हुन नहुने माग राख्दै आएका छन् । बोर्डले पछिल्लो संशोधनका क्रममा धितोपत्रको कारोबारमा प्रतिकारोबार न्यूनतम शून्य दशमलव २७ देखि शून्य दशमलव ४ प्रतिशत कमिसन दर कायम गरेको छ ।  

लगानीकर्ताले भने सेयर किन्दा उच्चदरमा कमिसन तिराउन ब्रोकरहरूले फ्य्राक्सनमा सेयर किनिदिने गरेकाले यसमा सुधारको माग उठाउनेसमेत बताएका छन् ।   

भूमिका बढाइदिन ब्रोकरको माग, धितोपत्र सकारात्मक 
विगतमा ३–४ वर्ष घटेको बजारका कारण ब्रोकर कम्पनीहरू घाटामा सञ्चालन भइरहेकामा हाल केही राहत हुन लाग्दा घटाइएको कमिसनले समस्या पर्ने भन्दै कमिसन दरलाई स्थायित्व दिनसमेत भनेका छन् ।  ब्रोकर संघले यसबाहेक भूमिका वृद्धि गराइदिन पनि बोर्डलाई भनेका छन् । ब्रोकरलाई प्रोपाइटरी ट्रेड (आफ्नो वा संस्थाका लागि कारोबार), धितोपत्र लेन्डिङ, बरोइङजस्ता सुविधा थप दिनुपर्ने र ग्राहकको पक्षमा लगानी व्यवस्थापन वा सल्लाह सेवा दिन पाउने व्यवस्थाको माग गरेका छन् ।  

See More On

सुझावित समाचार