त्रिभुवन विमानस्थलमा थप चार रिफ्युलरबाट हवाई इन्धन सेवा सुरु

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

कोभिड– १९ ले स्थगित हवाई सेवा सुरु गर्ने तयारी हुँदै गर्दा आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्ने ट्यांकर (रिफ्युलर) को संख्या थपेको छ ।

निगमले आइतबार एक कार्यक्रम गरी २७ हजार लिटर क्षमताका चार नयाँ रिफ्युलरबाट सेवा सुरु गरेको हो । योसँगै त्रिभुवन विमानस्थलमा रिफ्युलरको संख्या ११ पुगेको छ । हवाई उडानको चाप बढेका वेला इन्धन भर्न ढिलाइ हुने गरेको गुनासो बढेपछि निगमले एक वर्षअघिबाट नयाँ रिफ्युलर थपको गृहकार्य अघि बढाएको थियो । निगमका उपनिर्देशक मनोज ठाकुरले टेन्डर प्रक्रिया टुंग्याएर रिफ्युलर सञ्चालनसम्बन्धी तालिम दिने र क्याब्रिकेसन परीक्षण गर्ने प्रक्रिया टुंग्याएर सेवा सुरु गर्दा केही ढिलाइ भएको बताए ।

‘अहिले सेवा सुरु गरेको दुईवटा रिफ्युलर लकडाउनअघि नै आएका हुन् । थप दुईवटा रिफ्युलर जेठ अन्तिम साता भित्रिएका थिए,’ उनले भने, ‘यी रिफ्युलर सञ्चालन सम्बन्धमा उत्पादक देशबाट प्राविधिक आएर हाम्रा कर्मचारीलाई तालिम दिने र गुणस्तर तथा नापतौल विभागबाट नापसम्बन्धी क्यालिब्रेसनको काम गर्दा केही समय लागेको हो ।’

त्रिभुवन विमानस्थलमा यसअघि २७ हजार लिटरको दुईवटा, १६ हजार लिटरको चारवटा र ११ हजार लिटर क्षमताको एउटा रिफ्युलर थियो । अबका दिनमा ११ रिफ्युलरले एकपटकमा दुई लाख ३७ हजार लिटरसम्म इन्धन भर्ने क्षमता राख्नेछन् । सामान्य अवस्थामा त्रिभुवन विमानस्थलमा दैनिक पाँच लाख लिटर हवाई इन्धन खपत हुँदै आएको छ । आन्तरिकतर्फ एक लाख र अन्तर्राष्ट्रियतर्फ चार लाख लिटरसम्म इन्धन खपत हुने गरेको ठाकुरले बताए ।

‘रिफ्युलर अभावमा ठूला विमान कम्पनीलाई इन्धन भर्न धेरै समय लाग्ने गरेको थियो । हामीले २७ हजार लिटर क्षमताको नयाँ चार रिफ्युलर थप गरेपछि विमानमा छिटो इन्धन भर्न केही सहजता हुनेछ,’ उनले भने । सामान्य अवस्था हुँदा ठूला विमानहरूले एकैपटक ३० हजारदेखि ६० हजार लिटरसम्म इन्धन भर्ने गर्छन् । त्यो वेला निगमले एउटै रिफ्युलरले बारम्बार तेल भर्दा ढिला हुने गरेको थियो ।

ठाकुरका अनुसार सामान्य अवस्था हुँदा टर्किस एयरलाइन्सले दैनिक उडान भर्ने गर्दथ्यो । उसले एकपटकमा ६० हजार लिटरसम्म इन्धन हाल्छ । जसकारण एउटै रिफ्युलरमा दुईपटक इन्धन भरेर विमानमा हाल्नुपर्ने बाध्यता थियो । कहिलेकाहीँ त साना–ठूला सबै रिफ्युलर विमानवरिपरि लगेर तेल खसाल्नुपर्ने बाध्यतासमेत रहेको ठाकुरले बताए ।

निगमले २७ हजार लिटरको थप दुईवटा रिफ्युलरसमेत खरिद गर्न लागेको छ । यी रिफ्युलर गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विमान कम्पनीका लागि हुन् । यसअघि निगमले नयाँ रिफ्युलर खरिद गर्न नसक्दा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट भाडामा लिएर चलाएको थियो ।

नयाँ रिफ्युलर सञ्चालनमा आउने भएपछि एक महिनाअघि २७ हजार र १६ हजार लिटरको दुईवटा रिफ्युलर फिर्ता गरेको छ भने १६ हजार लिटर क्षमताको दुईवटा रिफ्युलर जनकपुर विमानस्थलमा प्रयोग गरिरहेको छ ।

इन्धन खपत आधा मात्रै
अहिले अन्तर्राष्ट्रिय उडानमा कडाइ भएकाले इन्धन खपतसमेत आधा घटेको छ । निगमका अनुसार सामान्य अवस्थामा पाँच लाख लिटर खपत हुने गरेकोमा अहिले दुई लाख ५० हजार लिटरसम्म खपत हुने गरेको छ । ‘आन्तरिक उडान भर्ने विमान कम्पनीले ६०–७० हजार लिरसम्म इन्धन खपत गरेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ डेढ लाख लिटरदेखि दुई लाख लिटरसम्म खपत हुने गरेको छ,’ उनले भने । आगामी दिनमा हवाई उडान सामान्य अवस्थामा पुगेपछि विमान कम्पनीलाई इन्धन सुविधा पुऱ्याउन खासै समस्या नहुने गरी व्यवस्थापन गरिरहेको उनले बताए । 

सुझावित समाचार