स्वनाम साथीको समर्पण अनुकरणीय : प्रचण्ड

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनप्रति दुःख व्यक्त गरेका छन् । 

स्वनाम साथीको शुक्रबार राति उपचारका क्रममा मोडल अस्पतालमा निधन भएको थियो । पछिल्लो समय उनमा निमोनियाको समस्या देखिएको थियो । 

अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गर्दै आन्दोलनप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली स्वनामको आदर्शपूर्ण पक्षका रूपमा रहेको बताएका छन् । प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँको यिनै आदर्श कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय रहनेछ ।’ 

सम्पन्न परिवारमा जन्मेर पनि उनले विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्तिका लागि सम्पूर्ण जीवन अर्पण गरेका थिए । स्वनामले विसं २०२५ मा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको थिए । विसं २०३३ मा उनकै नेतृत्वमा सर्वहारा कम्युनिस्ट लिग गठन भएको थियो । 

विसं २०३८ मा स्वनामले सर्वहारा श्रमिक सङ्गठन नेपाल निर्माण गरी किसान आन्दोलन चलाएका थिए । योग र ध्यान साधनामा लागेका स्वनाम ‘ध्यान योग आरोग्य साधना नेपाल’ तथा शिक्षा मन्त्रालयद्वारा गठित ‘ध्यान योग प्रोटोकल कार्यदल, २०२०’ को संयोजकसमेत थिए । उनको जन्म विसं २००७ साउन १७ गते म्याग्दीको दर्वाङ–२ मा भएको थियो ।

सुझावित समाचार