कथालयले बालबालिकाका लागि गाइडो भान जेनेचनको ‘सेतो माछा’ शृंखलाका पाँचवटा पुस्तक प्रकाशनमा ल्याएको छ । शृंखलामा सानो सेतो माछाको सिकाइ र वृद्धि विकासका कथाहरू समेटिएका छन् ।
पाँच भागका प्रत्येक कथामा सेतो माछाले नयाँनयाँ कुराहरू सिक्दै जान्छ । ‘सेतो माछा’ शीर्षकको पहिलो भागमा एक वर्षको सेतो माछा समुद्रमा हुर्किरहेको हुन्छ । यसमा माछा आमाको खोजीमा निस्कने कथा छ ।
सेतो माछाले गन्यो ११, साहसी सेतो माछा, सेतो माछा खुसी भयो र सेतो माछा ठूलो भयो यस शृंखलाका चार शीर्षक हुन् । यी चार पुस्तकमा सेतो माछाले आफ्नो समुद्री संसारको बारेमा सिक्ने क्रममा आफ्नो परिवार र समुद्री जनावर चिन्न, उनीहरूसँग सहयोग र सहकार्य गर्न, अंक गन्न र रंग छुट्याउन सिकिरहेको छ ।
दुई वर्षको हुँदासम्म उसले दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत कुरा सिकिसकेको हुन्छ । केही नजान्दा डराउने सेतो माछा नयाँ कुराहरू सिकेपछि साहसी भएको महसुस गर्छ र उसको दोस्रो जन्मदिन धुमधामसँग मनाइन्छ । बालबालिकामा सिकाइसम्बन्धी उत्सुकता जगाउँदै कथामा बाँधिरहने कथा सेतो माछामा जेनेचनले नै बनाएका विशिष्ट किसिमका चित्रद्वारा कथालाई झन सुन्दर बनाएका छन् ।
कालो पृष्ठभूमिमा रंगिन, प्रस्ट र ठूला चित्रहरू छन् । चित्रहरूमा इन्द्रेणीका सातै रंग भेट्न सकिन्छ । अक्षर पढ्न नसक्ने बालबालिकाहरूले पनि रमाईरमाई चित्र हेर्दै कथा बुझ्न सक्छन् । सेतो माछा संरचना, रंग र भावनात्मक अभिव्यक्तिको सुन्दर र बलियो सम्मिश्रण भएको पुस्तक हो । हुर्किरहेका तीनदेखि ६ वर्ष उमेर समूहका केटाकेटी लक्षित यो सिरिजले बालबालिकाको भाषा, सीप सिकाइ र क्षमता विकासमा सहयोग पुर्याउन सक्छ ।
बालबालिकाका लागि लेख्ने जेनेचनका पुस्तक बेस्ट सेलर रहँदै आएका छन् । उनका ‘द बिग बेबी बुकु, ‘मम्मिज एन्ड देअर बेबिज’, ‘राइडर रिक्की’लगायत थुप्रै बालकथा प्रकाशित छन् । उनी नेदरल्यान्डको ‘पिक्चर बुक अफ द इयर’ र ‘रिडर्स डाइजेस्ट अवार्ड’जस्ता प्रतिष्ठित पुरस्कारबाट सम्मानित लेखक हुन् । यो पुस्तक सन् २००४ माक्लाभिस बिभिबिए प्रकाशन गृहबाट पहिलोपटक बेल्जियम र नेदरल्यान्डमा प्रकाशित भएको थियो । यो शृंखलाका पाँचवटै पुस्तकको नेपाली अनुवाद सुनिती अमात्यले गरेकी हुन्