सेयर लगानीकर्ता प्रफिट बुकिङमा लागेसँगै बजार घट्ने क्रममा देखिएको छ । गत ५ दिनमा नेप्सेमा भएको उच्च उतारचढावले लगानीकर्तालाई मूल्य परिवर्तनका आधारमा हुने राम्रै प्रतिफल सुरक्षित गर्ने अवसर दियो ।
प्रतिनिधिसभा विघटनको दिन ९६ अंकले घटेको नेप्से बिहीबारसम्म आउँदा सो दिनको भन्दा १ सय ३ अंक माथि नै छ । सो दिन कारोबार भएकामध्ये १ सय ९४ धितोपत्र तथा ऋणपत्रमा बिहीबारसम्म आइपुग्दा ४० वटामा भने लगानीकर्ताले गुमाउनुपरेको छ ।
युनाइटेड इर्दीमा आइतबार लगानी गर्नेलाई सबैभन्दा धेरै ३१ प्रतिशतको नोक्सान छ । नारायणी डेभलपमेन्ट बैंकमा पनि लगानीकर्ताले २९ प्रतिशत घाटा खाएका छन् । त्यसबाहेक अन्य ३८ वटामा लगानीकर्तालाई धेरैमा ४ प्रतिशत नोक्सान देखिएको छ ।
नाफामा देखिएका धेरै सेयरमा बिहीबारको मूल्यमा मुस्किलले १० प्रतिशतभन्दा धेरै नाफा बाँकी देखिएको छ । सबैभन्दा धेरै नाफा बाँकी रहेकामा नबिल बैंक, नेपाल लाइफ, नेसनल लाइफ, समृद्धि फाइनान्स, प्रभु बैंक, प्रिमियर इन्स्योरेन्स, एसियन लाइफलगायत छन् । यिनमा आइतबारको मूल्यको तुलनामा ९ प्रतिशतदेखि १८ प्रतिशतसम्म प्रतिफल कायमै छ । यसमा लाभांशहरूबाट भएको प्रतिफल समावेश छैन ।
बजार उच्च बिन्दु पुगेपछि मुनाफा सुरक्षित गर्नु प्रवृत्ति नै हो । त्यस्तै, यही महिना अन्त्यमा त्रैमासिक रूपमा लगानीकर्ताले कर्जाको किस्ता तिर्नुपर्ने भएकाले समेत धेरैले अहिलेको नाफाबाट रकम जोहो गरिरहेका हुन् । यस महिनाको अन्त्यतिर समेत लगानीकर्ताले मार्जिन कलबाट बच्न मूल्य केही बढाउन सक्ने पनि हुन्छन् ।
बिहीबार भने नेप्से २९ दशमलव ८३ अंकले घटेर २ हजार ३८ बिन्दुमा आइपुगेको छ । १ सय ४९ वटा धितोपत्र र ऋणपत्र यस दिन मूल्य घटेर कारोबार भएको छ भने ३६ को मूल्य बढेको छ । यस दिन कारोबार रकम केही घटे पनि ५ अर्ब बराबर छ ।
लगानीकर्ताको सम्पत्तिमा करिब ४० अर्ब रुपैयाँबराबर क्षय भएको छ । यो वास्तविक क्षयीकरण नभई कागजी मात्रै हो । कारोबारमा आएकामध्ये होटेल र व्यापारमूलक समूहगत परिसूचकमा मात्रै यस दिन सुधार भएको छ । जीवन बिमा र ‘अन्य’ समूहगत परिसूचकमा सबैभन्दा धेरै कटौती भएको छ ।
सिद्धार्थ बैंक र नबिल बैंक मर्जरमा जाने भनेर चलेको हल्ला निराधार भएको सिद्धार्थ बैंकले स्पष्ट पारेको छ । बैंकले अन्य कुनै संस्थासँग मर्जर हुन लागेको भन्ने समाचारहरू सत्य नभएको स्पष्ट पारेको हो । यो खबरपछि पनि सिद्धार्थ बैंकको मूल्य १३ रुपैयाँले बढेको छ । ३३ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश घोषणा गरेको नबिल बैंकको मूल्य भने बिहीबार ६४ रुपैयाँले घटेको छ । मंगलबार बैंकको बुक क्लोज हुनेछ ।