हेटौँडा गोल्डकप माघमा हुने

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता २०७७ माघमा हुने भएको छ ।

विजय युथ क्लब हेटौँडाले माघको अन्तिम साता पहिलो संस्करणको हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

हेटौँडा– १० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिता माघ २२ गतेबाट फागुन १ गतेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा मोफसलका दश टोलीको सहभागिता रहनेछ ।

नेपाल फुटबल संघले ‘ए’ डिभिजन क्लबहरूलाई तत्कालका लागि देशभरका विभिन्न स्थानमा हुने नकआउट फुटबलमा सहभागी हुन अनुमति नदिएका कारण मोफसलका टोलीहरूले मात्र सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष सुदीप राजबाहकले बताए । 

प्रतियोगितामा मोफसलका टिमहरू सहभागी हुने भए पनि राष्ट्रियस्तरका खेलाडीहरू विभिन्न क्लबबाट खेल्ने राजबाहकको दाबी छ । 

आयोजक टोलीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा आयोजक एफसी विजय युथ, नवजनजागृति युवा क्बल सिमरा, वीरगन्ज युथ एकेडेमी, वीरगन्ज युनाइटेड, सर्लाही– ११, दुधौली स्पोर्टस् क्लब सिन्धुली, हर्दी युवा समाज चितवन, सेन्ट्रल कलेज चितवन, एफसी रियाले काठमाडौं सहभागी हुने जनाएको छ । 

प्रतियोगिता संयोजक राजेश भेटवालले विजेताले नगद तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए । 

प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । 

प्रत्येक खेलमा म्यान अफ दी म्याचसमेत प्रदान गरिनेछ । 

प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

सुझावित समाचार