आउटरिच नेपालले चीनमा अवार्ड जितेको छ । चीनको सांघाईमा आयोजना गरिएको इसिआई अवार्ड २०२० समारोहमा इसिआई मार्केटिङ इनोभेसन अवार्ड आउटरिच नेपालले जितेको हो ।
यो अवार्ड आउटरिचले गरेको बेसिक ह्युम्यानिटी प्रचार अभियानका लागि प्राप्त भएको कम्पनीले जनाएको छ । आउटरिचले विश्वव्यापी रूपमा फैलिएको महामारीकै बीच सम्पूर्ण विश्व सीमित स्रोतहरूका साथ घरभित्र थुनिएर बस्न बाध्य भएको समयमा यो अभियान सुरु गरेको जनाएको छ ।
आउटरिच नेपालको तर्फबाट अवार्ड ग्रहण गर्दै एसियन फेडेरेसन अफ एडभरटाइजिङ एसोसिएसन्सका अध्यक्ष रेमन्ड सोले बेसिक ह्युम्यानिटीजस्तो प्रेरणादायी अभियानका लागि उजय र उनको टिमलाई बधाई दिएको जनाइएको छ । यो अभियानलाई विभिन्न देशहरूमा अत्यन्त सकारात्मक रूपमा ग्रहण गरिएको तथा स्विकारिएको उनको भनाइ थियो । उनले भने, ‘यो अभियान तत्कालीन परिप्रेक्ष्यमा अति नै सान्दर्भिक थियो र बेसिक ह्युम्यानिटी अभियानले समान अनुभूतिको सन्देशलाई अगाडि बढाएको थियो ।’
आउटरिच नेपालका संस्थापक तथा प्रबन्ध निर्देशक उजय शाक्यले भने, ‘हाम्रो देशको आफ्नै किसिमको मौलिक, सिर्जनात्मक शैली छ । अन्तर्राष्ट्रिय विज्ञापन मात्र मन छुने खालका हुन्छन्, नेपाली विज्ञापनमा त्यो खालको स्तर छैन भन्ने आलोचकहरूका लागि यो अवार्ड नै एउटा उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ ।’
पूरै विश्व सीमित स्रोत तथा खुम्चिएको आम्दानीका साथ घरभित्र बन्द भएको बाध्यात्मक परिस्थितिमा आफूले बनाएको व्यञ्जनको आकर्षक तस्बिर सामाजिक सञ्जालमा राख्नु उचित हुँदैन भन्ने हामीलाई लागेर एउटा सानो पहलको थालनी गरेको उनको भनाइ थियो । त्यसरी परिकार प्रस्तुत गर्ने प्रयोगकर्तालाई सामाजिक सञ्जालमा त्यस प्रकारको व्यञ्जन नराख्न आग्रहका साथ बेसिक ह्युम्यानिटी अभियान अघि बढाएको र यसलाई विश्वभरि रुचाइएको उनले बताए ।