साहित्यका पुस्तक महँगो भएको विषय उठेकै छन् । पुस्तक महँगो भएकै छ । पाठक मारमा परेकै छन् । लेखक, प्रकाशकका धारणा आइरहेकै छन् । पाठकहरूले आवाज उठाइरहेकै छन् । प्रकाशकले पनि पुस्तकको मूल्य बढाएकै छन् । तर, पुस्तकको मूल्य बढ्नुमा प्रकाशक मात्र नभएर वितरक पनि दोषी रहेको बताइन्छ ।
इंडिगो इंक पब्लिकेसनका प्रकाशक विष्णुकुमार पौडेलका अनुसार वितरकले ५०/५५ प्रतिशतसम्म कमिसन माग्ने गरेका छन् । ‘जसले जे गर्दा पनि हुने अवस्था छ । बजार भाँडिदिएका छन्,’ पौडेल भन्छन्, ‘वितरकले बढी प्रतिशत कमिसन मागेका कारण नै पुस्तकको मूल्य महँगो भएर पाठक मारमा परेका हुन् ।’ आफ्नो पब्लिकेसनले प्रकाशित गरेका पुस्तकमा ३५ देखि ५० प्रतिशतसम्म वितरकले कमिसन माग्ने गरेको उनी बताउँछन् ।
वितरकको कमिसन मात्र नभएर बजारबाट उठ्ने पैसाका कारण पनि प्रकाशकहरूले समस्या झेल्नुपरेको पौडेलको गुनासो छ । उनका अनुसार आफैँ वितरक हुँदा बजारबाट पैसा उठाउन वर्ष दिन लाग्ने गर्छ । कतिपय अवस्थामा उठाउनै सकिँदैन । जसले गर्दा आफूहरू अप्ठ्यारोमा परेको पौडेलको भनाइ छ ।
तर, प्रकाशकहरूले भनेझैँ पुस्तक महँगो हुनुमा आफूहरूको कुनै हात नभएको जिकिर गर्छन् पुस्तक तथा स्टेसनरी महासंघका पूर्वकेन्द्रीय अध्यक्ष रघुनाथ महर्जन । उनका अनुसार कति मूल्य राख्ने भन्ने कुरा प्रकाशकको अधिकारको विषय हो । व्यवसायीले यति नै मूल्य राख्नु भनेर भनेका छैनन् ।
आफूहरूको चाहना पनि पाठकले सुपथ मूल्यमै पाउन भन्ने रहेको उनको दाबी छ । भन्छन्, ‘हामीले यति राख्नुस्, उति राख्नुस् भनेर प्रकाशकलाई भनेका छैनौँ । मूल्य कति राख्ने उनीहरूको अधिकारको विषय हो । यसमा हाम्रो संलग्नता हुन्न ।’ पुस्तक बजारमा जान नसक्ने छ, स्टक छ भने त्यस्ता पुस्तकको विषयमा पचास÷साठी प्रतिशत पनि कमिसन रहन सक्ने उनको भनाइ छ । कमिसन खुद्रा व्यापारीले लिने र आफूहरू एकदम कम प्रतिशतमा काम गर्ने उनी बताउँछन् ।
पुस्तक पसलमा जाने हो भने कुनै पुस्तकमा १५ प्रतिशतसम्म छुट पाउँछन् पाठकले । कुनै पुस्तकमा १० प्रतिशत पाउँछन् । बढीमा पन्ध्र प्रतिशत छुट छ । वितरक र खुद्रा व्यापारीले भने ३५ देखि ५० प्रतिशतसम्म कमिसन लिन्छन् । पाँच सय मूल्यको पुस्तकबाट ३५ प्रतिशत मात्र कमिसन लिने हो भने पनि एक सय ७५ रुपैयाँ कमिसन व्यापारीको हात पर्छ ।
पन्ध्र प्रतिशत रोयल्टी छ भने लेखकको हातमा जम्मा ७५ रुपैयाँ पर्छ । पसलमा राखेर बिक्री गरेको आधारमा लेखकको रोयल्टीभन्दा दोब्बर कमिसन व्यापारी तथा वितरकले लिनुमा दोष कसको हो ? यसमा प्रकाशककै दोष रहेको नाम नबताउने सर्तमा एक वितरक बताउँछन् । ‘दोष प्रकाशककै हो । अहिले प्रकाशक धेरै भए । बजारमा प्रतिस्पर्धा गर्नैपर्यो,’ उनी भन्छन्, ‘बजारमा २० देखि २५ प्रतिशत कमिसन दिए पुग्थ्यो । तर, प्रकाशक थपिँदै गएपछि उसले पसलेहरूलाई आफ्नो किताब बेच्दा फाइदा हुने भनेर व्यवसाय गर्न थाले । यसले बजारलाई ध्वस्त बनायो ।’

उनका अनुसार प्रकाशकहरूकै लडाइँका कारण यस्तो भयावह अवस्था आएको हो । यसले लेखकलाई घाटा र पाठकलाई महँगो मूल्यको भारी बोकाएको उनको दाबी छ । पुस्तक प्रकाशनको खर्च बढेकै छ । कागजको मूल्य बढिरहन्छ । प्रेसको खर्च बढिरहन्छ । तर, त्योभन्दा बढी प्रकाशकले व्यापारीको कमिसनका लागि मूल्य बढाउनु समस्या रहेको उनको भनाइ छ । उनी थप्छन्, ‘सुशीला कार्कीको किताबको मूल्य ६ सय रुपैयाँ छ र त्यो किताब बिक्री हुन्छ भने अर्को लेखकलाई पनि दबाब हुन्छ मूल्य त्यस्तै राख्नुपर्ने । यति मात्र होइन, पाठकले लेखकको अभिमानको पनि मूल्य तिर्नुपर्छ ।’
बागबजारको एक पुस्तक पसलमा कपिल चौलागाईं नाम गरेका पाठक ग्राबियल गार्सिया मार्खेजको पुस्तक ‘हन्ड्रेड इयर्स अफ सोलिट्युड’ किनिरहेका थिए । उनलाई थाहा रहेनछ, विदेशी पुस्तकमा छुट हुँदैन भनेर । पसलेसँग यही विषयमा गफ गरिरहेका थिए । हामीले चौलागाईंलाई सोध्यौँ, ‘तपाईंलाई नेपाली पुस्तक महँगो लाग्छ कि लाग्दैन ? उनको जवाफ थियो, ‘नेपाली पुस्तक किन्नै सकिँदैन ।’ उनका अनुसार मासिक कमाइ गरेर कोठाभाडा तिर्नुपर्छ, खानुपर्छ ।
पुस्तकप्रेमी भएकाले बचेखुचेका केही रकमले महिनामा चार–पाँचवटा पुस्तक किन्न सकिने अवस्था बन्छ । तर, पुस्तक नै पाँच सयभन्दा बढी मूल्यको रहेकाले मारमा परेको पीडा सुनाउँछन् उनी । ‘यत्रो महँगो भएपछि कसरी पुस्तक किन्नु अनि पढ्नू ? कति नेपाली पुस्तक त हल्ला र चर्चाले किनिन्छ, तर पछि गुदी हुँदैन । त्यत्रो महँगो पैसा लगाइएको हुन्छ, पछि पछुतो हुन्छ,’ चौलागाईं भन्छन्, ‘हामीजस्तो पाठक मारमा पर्ने गरी मूल्य राखिदिएका हुन्छन् । पुस्तक पढ्ने हामीले नै हो । बिचौलिया, दलालहरूले त पढ्दैनन् नि !’
फिनिक्स पब्लिकेसनका गणेश सुवेदी पुस्तक महँगो हुनुमा वितरकले माग्ने कमिसनको रेट प्रमुख रहेको दाबी गर्छन् । भन्छन्, ‘हामी त माइतीघरमा आन्दोलन गरिरहेका उखु किसानजस्ता हौँ । जसको नाफा अरूले लिन्छन् ।’ तर, समस्या वितरकको नभएको बताउँछन् नाम नभन्ने सर्तमा अर्का एक वितरक । उनका अनुसार बागबजार, पुतलीसडकतिर डिस्काउन्टकै समस्या छ । वितरकहरूले प्रकाशकहरूलाई कराउँछन् ।
पाठक डिस्काउन्ट खोजीबस्छन् । कसैले ३० प्रतिशत दियो भने अर्कोले ३२ दिने कुरा गर्छ । अर्कोले थप बढी भन्छ । यसरी किताबको मूल्य बढी हुने उनी बताउँछन् । भन्छन्, ‘यी यावत् कारणले गर्दा प्रकाशक महँगो मूल्य राख्न बाध्य हुन्छ । यो समस्या उनीहरूकै हो ।’
पपुलर पुस्तक भण्डार, विराटनगरका वितरक तथा खुद्रा व्यापारी मातृका सिवाकोटी पनि कमिसन कति दिने भन्ने अधिकार प्रकाशकको रहेको बताउँछन् । भन्छन्, ‘दिनेले दिएपछि लिनेले त लिइहाल्छ नि । त्यसरी कमिसन दिनुको कारण बजारमा प्रकाशकहरूको हानथाप र प्रतिस्पर्धाले पनि हो ।’ सम्पूर्ण किताब, नारायणगढका वितरक लेखराम सापकोटा पनि वितरकका कारण पुस्तक महँगो भयो भनेर भन्न नमिल्ने बताउँछन् ।
‘पुस्तकको मूल्य कम राखौँ, तर अनलाइनले यतिउति छुट दिन्छौँ भनेर नभनोस्,’ सापकोटा भन्छन्, ‘वितरकको कमिसन प्रतिशत कम गर्न तयार छौँ ।’ प्रकाशकहरूबीच मूल्यमा यति धेरै हानथाप र प्रतिस्पर्धा किन ? अनुगमन र नियमन गर्ने निकाय नभएकाले यस्तो भएको बताउँछन् प्रकाशक सुवेदी । भन्छन्, ‘नियमन गर्ने निकाय छैन । साझा तवरले मूल्य निर्धारण गरिँदैन । बेकारको प्रतिस्पर्धाले गर्दा अवस्था यस्तो बनेको हो ।’