साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से करिब २३ अंकले घटेर २ हजार ३२ बिन्दुमा आइपुगेको छ । करेक्सन देखिएको बजारमा राष्ट्र बैंकको नीतिले थप प्रभाव पारेको छ ।
सेयर धितो कर्जाको कर्जा मूल्य अनुपात नचलाए पनि कमसल संस्थाहरूको सेयरको धितोमा कर्जा दिन कडाइ गर्न बुधबार राष्ट्र बैंकले निर्देशन दिएपछि पनि बजारमा यसको प्रभाव परेको छ । केही तुलनात्मक रूपमा कमजोर मानिएका संस्थाहरूको समेत यस दिन उच्चदरमा मूल्य घटेको हो ।
केही दिनदेखि १० प्रतिशतका दरमा वृद्धि भइरहेको नारायणी डेभलपमेन्ट बैंकको मूल्यसमेत ओरालो लाग्न थालेको थियो । चलाख लगानीकर्ताले कम्पनीको १०–१० कित्ता कारोबार गरेर मूल्य बढाउँदै आएका थिए । समस्याग्रस्तबाट भर्खरै हटेको कम्पनीले हकप्रद दिने आधारमा मात्रै लगानीकर्ताले मूल्य बढाउने प्रयास गरिरहेका थिए ।
हाल कम्पनीको निक्षेप र कर्जा लगानी ज्यादै न्यून छ । मूल्य भने ६ सय रुपैयाँ नाघेको थियो । बुधबार कम्पनीको मूल्य करिब ८ प्रतिशतले घटेर ५ सय ९१ मा सेयर किनबेच भएको छ । गत आवको दोस्रो त्रैमासदेखि वित्तीय विवरण नै प्रकाशित नगरेको खानीखोला जलविद्युत् कम्पनीको मूल्य पनि करिब ६ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकले पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका, व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष पूरा नभएको, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्थाहरू र कम्तीमा २ सय ५० दिनको कारोबार मूल्य नभएका संस्थाहरूमा कर्जा दिन नपाइने व्यवस्था गरेको छ ।
सेयर धितोमा कर्जा दिँदा धितोपत्रको मूल्य आम्दानी अनुपात, बुक भ्यालु अनुपात, लाभांश प्रतिलब्धि दर, लाभांश भुक्तानी दरसमेतको विश्लेषण गर्न पनि अनिवार्य गरेको छ । कतिपयले भने यसलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन् ।
‘भ्यालु इन्भेस्टमेन्टलाई छाडेर हचुवामा खराब कम्पनी धितो राखी चलखेल गर्नेहरूलाई साइजमा ल्याउनु जरुरी थियो, जुन कदम स्वागतयोग्य छ,’ सेयर लगानीकर्ता तथा विश्लेषक विष्णुप्रसाद बस्यालले भने ।
लाभांश दर अपेक्षा गरिएभन्दा कम भएपछि नेपाल बैंकको सेयर मूल्यसमेत घटेको छ । बैंकको ६ दशमलव २५ प्रतिशतका दरमा मूल्य घटेर ३ सय ९० मा सीमित भएको हो । बैंकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
मेगा बैंकले पनि १० प्रतिशत बोनस सेयर र ३ दशमलव ०५ प्रतिशत नगद लाभांश दिएको हो । बैंकको भने मूल्य ८ रुपैयाँले बढेर २ सय ७६ रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा बैंक नवौँ स्थानमा रह्यो । बैंकको १६ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकले समेत ६ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । बिहीबार बजारमा कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन ६ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको हो । यस दिन लघुवित्तबाहेक सबै समूहगत परिसूचक भने घटेको छ ।
माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेर ४ सय ३९ रुपैयाँ पुगेको छ । सेयर जारी नगरेको नवीकरण लघुवित्तलाई मर्जर गरेको माहुलीको केही दिनअघि कारोबार सुचारु भएको हो । सारथि, सूर्योदय, आरडिसी लघुवित्तलगायतको पनि मूल्य बढेको छ ।