कोरोना भाइरस (कोभिड–१९) कारणले सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका २९.८ ले रोजगारी गुमाएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा सुन्दर नेपालले गरेको विपत् व्यवस्थापन परियोजनाअन्तर्गतकाे सर्वेक्षणअनुसार २९.८ प्रतिशतले रोजगारी गुमाएको तथ्य सार्वजनिक भएकाे छ ।
कोरोना महामारीले व्यापार व्यवसायमा बढी असर पारेको प्रतिवेदनमा उल्लेख छ। व्यापार, व्यवसायमा ६३ प्रतिशतले कमी आएको र २९.८ प्रतिशतले रोजगारी कटौती भएको परियोजनाका संयोजक विष्णु न्यौपानेले जानकारी दिए ।
‘५८ प्रतिशतभन्दा बढीले व्यवसायसँग कुनै न कुनै खालको चालू कर्जा पाएका छन्,’ उनले भने, ‘२३ प्रतिशत व्यवसायीमा मात्र सरकारले दिएको सहुलियत ऋणबारे जानकारी रहेको पाइयाे ।’
वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा पाँच हजार सात सय ३१ व्यापारिक संस्थाले यहाँको आर्थिक गतिविधि धानेको र २० हजार सात सय ५० जनाभन्दा बढी व्यक्ति स्वारोजगार वा रोजगारीका रुपमा संलग्न रहेको न्यौपानेले बताए ।
‘यस नगरपालिकाको आयस्राेत मुख्यतया खुद्रा तथा होलसेल व्यापारमा आधारित छ, जसले रोजगारीको ६१.५४ प्रतिशत हिस्सा ओगटेको छ,’ उनले भने, ‘सहरको जनसंख्याको ३४.३३ प्रतिशत यही क्षेत्रमा रोजगार छन् ।’
वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा खाद्य व्यवसाय तथा होटेल १४.९२, उत्पादनमूलक उद्योग ९.७९, कृषिले १.२० प्रतिशत बजार हिस्सा ओगटेको न्यौपाने जनाए । महिला र पुरुषको रोजगारीको अनुपात १ः४५ छ ।
तथ्यांकअनुसार १५ वर्ष वा माथि उमेरको जनसंख्या ९५ हजार तीन सय ३१ रहेको र जसमध्ये २६ हजार चार सय ४० रोजगारमा रहेको, ३४ हजार २५ बेरोजगार र ३४ हजार ६ सय ९५ जना स्वेच्छाले बेरोजगार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकामा निजी क्षेत्रका उत्पादनमूलक क्षेत्रका दुई सय २१, सेवामूलक एक हजार पाँच सय ६८, पर्यटन ६, कृषि तथा वन क्षेत्रका पाँच सय ३१, निर्माण दुई सय ८२ गरी जम्मा दुई हजार तीन सय १५ क्षेत्रमा रोजगारी उत्पन गराएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती क्षेत्रमा ६२.६ प्रतिशत पुरुष र ३७.४ प्रतिशत महिलाले रोजगारी पाएका छन् ।
वीरेन्द्रनगर बजारको आकारमा एक हजार ६ स्थानीय पसल र खुद्रा विक्रेता, तीन सय ५० होटेल, एक सयवटा सुन र चाँदीका पसल, एक सय ७८ इलेक्ट्रोनिक पसल, ७५ टेलरिङ पसल, २५ डेरी, सात आर्ट सप र स्टुडियो, एक सय फोटो स्टुडियो र यस्तै अन्य व्यवसाय रहेको प्रतिवेदन उल्लेख गरिएको छ ।
वित्तीय पहुँचका आधारमा ५३.७ प्रतिशत घरधुरीको ( १५,६८४ घरधुरी) बैंक खाता रहेको र बाँकी ४६.३ प्रतिशतको (१३,५१४ घरधुरी) बैंक खाता नभएको परियोजना प्रमुख न्यौपानेले जानकारी दिए । वीरेन्द्रनगर बजारमा वित्तीय संस्थाले वार्षिक रु. २११,९५०,०२८.४२ कारोबार हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
रोजगारी गुमाएकालाई आर्थिक सहायता
कोरोनाका कारणले रोजगारी गुमाएकालाई एसआइडीको सहयोगमा सञ्चालित तयार नेपालको विपत् व्यवस्थापन परियोजनामार्फत कोरोनाका कारणले निम्त्याएको असरहरूलाई सामना गर्न, आर्थिक अभिवृद्धि र जीविकोपार्जनका लागि अनुसरणयोग्य नमुना कार्यक्रमहरू सञ्चालन गरिएको परियोजनाका प्रमुख न्यौपानेले बताए ।
‘पुनर्लाभको तत्कालीन आवश्यकताको सम्बाेधनका लागि आर्थिक तथा अन्य स्राेतको परिचालन आयोजना दुईवटा छनाेट गरी रोजगारी दिएको छ,’ उनले भने, ‘नगद हस्तान्तणका लागि लाभग्राही छनाेट गरी तीन सय ६१ जनालाई आर्थिक सहयोग गरिएको छ ।’
त्यस्तै, सीप विकास तालिमका सहभागी छनाेट गरी ३० जना उद्यमीलाई ३२–३२ हजार सहायता प्रदान गरिएको न्यौपानेले जानकारी दिए ।