राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिँदा धितोपत्रको मूल्य आम्दानी अनुपात, बुक भ्यालु अनुपात, लाभांश उपलब्धिदर, लाभांश भुक्तानी दरसमेतको विश्लेषण गर्न अनिवार्य गरेको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जा पुनरावलोकन गर्ने उल्लेख गरेको थियो ।
सेयर धितोमा कर्जा लगानी सीमा घटाउने संकेतपछि लगानीकर्ताहरूले विरोध गरेका थिए । राष्ट्र बैंकले भने कर्जा लगानीलाई थप नियमन गरेको छ ।
लगानीकर्ताले ओभरड्राफ्ट कर्जा लिएरसमेत सेयर बजारलगायतमा लगानी गरेपछि प्रतिव्यक्ति ५० लाख रुपैयाँ लगानी सीमा कायम गर्ने अवधिसमेत घटाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले सीमा नाघेका ग्राहकको २०७९ असारसम्ममा यस्तो सीमामा ल्याइसक्नुपर्ने व्यवस्थालाई घटाएर २०७८ असारसम्ममा ल्याउन निर्देशन दिएको छ ।
त्यस्तै, नयाँ कर्जा जारी गर्दा यस्तो सीमा नाघे–ननाघेको यकिन गरेर मात्र थप लगानी गर्न निर्देशन दिएको हो । बुधबार बजारबन्द भएपछि राष्ट्र बैंकको संशोधन सार्वजनिक भएकाले बजारमा यसैको प्रभाव देखिएको भन्न मिल्दैन । यो नियमित करेक्सन नै हो । भोलिका दिनमा बजारले यी संशोधनलाई कसरी लिनेछ त्यहीअनुसार प्रभाव पर्नेछ ।
‘सेयर धितो कर्जामा अन्य मूल्यांकन विधि खासै अपनाइने गरिएको थिएन ।’ ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले भने, ‘जसको मूल्यले आधारभूत पक्षअनुसार छ, त्यहीअनुसार दिन भनिएको हो, बुझ्ने हो भने समग्रमा यसले बजारलाई राम्रै गर्छ ।’
बुधबार भने नेप्से ६ दशमलव २० अंकले घटेर २ हजार ५५ बिन्दुमा आएको छ । बुधबारबाटै पहिलो कारोबार भएको माउन्ट इनर्जी हाइड्रोपावरको सेयर ३ सय ४४ रुपैयाँबाट किनबेच सुरु भई १० प्रतिशतले बढेर ३ सय ७८ रुपैयाँसम्म पुगेको छ । धेरैलाई १० कित्ता सेयर परेकाले ५ हजार ३ सयपटक सेयर किनबेच हुँदा अधिकांश १० कित्ताका दरमा कारोबार भएको छ ।
छ्याङ्दी जलविद्युत्, माहुली सामुदायिक, समिट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, आरएमडिसी लघुवित्त, सूर्योदय लघुवित्तको समेत मूल्य १० प्रतिशतको दरमा वृद्धि भएको छ ।
सेयर जारी नगरेको नवकिरण लघुवित्तलाई मर्जर गरेको माहुलीको केही दिनदेखि सेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ्याङ्दीले बोनसपछि ३० प्रतिशत हकप्रदसमेत दिने घोषणा गरेको छ । यही कारणले कम्पनीको सेयरमा सर्किट ब्रेक लागेको हो ।
बुधबार कारोबार रकम पनि ५ अर्ब १४ करोडमा सीमित भएको । यद्यपि, यो कारोबार रकम उच्च नै हो । कारोबारमा आएका १ सय ९९ धितोपत्र तथा ऋणपत्रमा ८६ वटाको मूल्य बढेको र ८९ वटाको मूल्य घटेको छ । जलविद्युत्, वित्त, निर्जीवन बिमा, अन्य र जीवन बिमा समूहगत परिसूचक पनि भने घटेका छन् ।