इजाजतविना औषधि ल्याई बिक्री–वितरण गर्न खोज्ने आठजना व्यक्ति चितवनबाट पक्राउ परेका छन् ।
भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय माडीले विशेष सुराकीका आधारमा ३१ लाख पाँच हजार रुपैयाँबराबरको औषधि बरामद गरेको हो ।
इलाका प्रहरी कार्यलय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमान्डमा गएको टोलीले ना.४ख ४४२५ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा अवैध औषधिसहित आठजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बोरामा लुकाएर ल्याएको एन्टिअक्सिडेन्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सियम आदि लेखेको औषधि बरामद गरेको छ ।
चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधि व्यवस्था विभागसँग राय–सल्लाह लिएअनुसार थप अनुसन्धानको कार्य भइरहेको बताए ।
प्रारम्भिक अनुसन्धानमा नेटवर्किङ व्यापारमा संलग्नहरूले बिक्री–वितरणका लागि ल्याएको पाइएको बताए ।
प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगका लागि स्वीकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देवेन्द्र यादवले बताए ।
पक्राउ पर्नेहरूमा कालिका– ४ बस्ने राजकुमार महतो, कालिका– ३ का हरिशरण चौधरी, माडी नगरपालिका– ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका– ८ का सुरज गौतम, वडानम्बर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका– ५ बस्ने उज्जव पोख्रेल र वडानम्बर २३ बस्ने विपिन सापकोटा रहेका छन् ।