निर्धारित पोसाक नलगाई सिंहदरबार प्रवेश गर्ने कर्मचारीमाथि चेकजाँच

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोसाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।

सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरूले पोसाक लगाए–नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । 

सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए । 

अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए । 

उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोसाक लगाए–नलगाएको जाँच गरिएको बताए । 

अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएको पनि उनले जानकारी दिए । 

पोसाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताए । 

सरकारी कर्मचारीले पोसाक भत्ताबापत रकम लिने, तर पोसाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताए । 

अबदेखि नियमित रूपमा छड्के जाँच गरिने पनि उनले जानकारी दिए ।

सुझावित समाचार