हालसम्मको उच्च बिन्दुनजिक पुगेसँगै नेप्सेले प्रतिरोध पाएको छ । १७ मंसिरमा बजार बन्द हुँदा २ हजार ७१ बिन्दुमा रहेर हालसम्मकै उचाइ बनाएको नेप्सेले हाल त्यही बिन्दुमा प्रतिरोध परीक्षण गरिरहेको हो ।
अन्तरदिनमा भने नेप्सेले २ हजार १ सयको तहसमेत छोएको थियो । हालसम्मको अन्तरदिनको उच्च बिन्दु २ हजार १ सय १७ पनि १८ मंसिरमा बनाएको थियो ।
यसबीचमा नेप्सेले अंग्रेजी अक्षरको डब्लू आकृति बनाएको थियो । यसको ब्रेक इभन बिन्दुका रूपमा पनि २ हजार ७१ बिन्दु रहेको छ । यो बिन्दुमा प्रतिरोध पाउँदै मंगलबार नेप्से करिब ६ अंकले घटेर २ हजार ६१ बिन्दुमा बजार बन्द भएको छ ।
मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेको खबरले पनि बजारलाई प्रभाव पार्ने देखिएको छ । सत्ता सम्हालिरहेको नेकपा सरकारले सभामुखको उपस्थितिबिना पनि बहुमत सदस्यको उपस्थितिमा परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको हो । सत्ता सम्हालिरहेको पार्टीभित्रै यसले द्वन्द्व ल्याउने देखिएकाले पनि यसको आंशिक प्रभाव देखिएको एक ब्रोकरले बताए ।
बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर थप घटाउन थालेकाले यसको प्रभाव बजारमा कायमै रहने देखिएको छ । लगानीयोग्य पुँजी उपलब्धताले पनि अझै कारोबार रकम उच्च छ । यस दिन ६ अर्ब ६ करोड रुपैयाँको सेयर किनबेच भएको हो । बजार करेक्सनमा रहेसँगै लगानीकर्ता प्रतिफल सुनिश्चित गर्न लागेका छन् । कारोबारमा आएका २ सय ५ धितोपत्र र ऋणपत्रमा ५८ वटाको मूल्य बढेको र १ सय १६ वटाको मूल्य घटेको हो ।
मंगलबार कारोबारमा आएका महुली, उन्नति, गुराँस र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्यमा भने बढेर सर्किट ब्रेक लागेको छ । ग्लोबल आइएमई लघुवित्तले करिब २९ प्रतिशत लाभांश प्रस्ताव गरेपछि यो क्षेत्रका कम्पनीहरूमा लगानीकर्ता थप आकर्षित भएका छन् ।
सेयर जारी नगरेको नवीकरण लघुवित्तलाई मर्जर गरेको महुलीको केही दिनअघि कारोबार सुचारु भएको हो । अघिल्लो आवमा ३१ प्रतिशत लाभांश दिएको कम्पनीको गत आवमा भने नाफा ५ करोड रुपैयाँबाट घटेर २ करोड रुपैयाँमा सीमित भएको थियो ।
सहकार्य लघुवित्तलाई मर्जर गरेको उन्नति सहकार्य लघुवित्तमा समेत लगानीकर्ताले लगानी बढाएका हुन् । गत आवमा १ करोड रुपैयाँबाट नाफा घटेर ३५ लाखमा सीमित भए पनि गुराँस लघुवित्तमा लगानीकर्ताले लगानी बढाएका छन् । गत वर्ष कम्पनीले ८ प्रतिशत लाभांश दिएको थियो ।
११ दशमलव ५ प्रतिशत बोनस र २ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको लक्ष्मी बैंकको सेयर मूल्य १० रुपैयाँले घटेर २ सय ७८ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको वरुण हाइड्रोले ढिलो सूचना दिएको भन्दै कारोबार बन्द गरिएको छ । यस सम्बन्धमा कम्पनीलाई ३ दिनभित्र जवाफ दिन नेप्सेले निर्देशन दिएको छ ।
त्यस्तै, पहिलो कारोबारका लागि माउन्टेन इनर्जी हाइड्रोले १ सय १४ देखि ३ सय ४४ रुपैयाँको मूल्य रेन्ज पाएको छ । बुधबारबाट कम्पनीको सेयर कारोबार गर्न सकिनेछ ।