भारतबाट ट्रयाक्टर पनि तस्करी

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

उपभोग्य मालवस्तु भन्सार छली गरेर तस्करी हुँदै आएको मोरङको नेपाल–भारत सीमा क्षेत्रमा यातायातको साधन ट्रयाक्टर पनि तस्करी हुने गरेको पाइएको छ । 

भन्सार छली भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अनटेस्ट लेखेको सोनालिका कम्पनीको नयाँ ट्रयाक्टर मोरङको सुनबर्सी नगरपालिका– ७ गुद्रीचाेकबाट सोमबार  प्रहरीले पक्राउ गरेपछि यातायातको साधन ट्रयाक्टर पनि चोरी तस्करी हुने गरेको खुलेको हो । 

ग्रामीण क्षेत्रको नेपाल–भारत खुला सीमा नाकाबाट नेपाल भित्र्याइएको १६ लाख मूल्यबराबरको उक्त ट्रयाक्टर सीमा क्षेत्रमा रहेको बरडंगा प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिइएको ट्रयाक्टर विराटनगरस्थित भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा सस्तो मूल्यमा पाइने भएकोले उपभोग्य वस्तुहरू जस्तै यातायातको साधन ट्रयाक्टर पनि खुला सिमानको फाइदा उठाउँदै तस्करी गरेर ल्याउने गरिएको हो । यसरी ल्याइएका ट्रयाक्टरहरू नक्कली नम्बर राखेर  ब्लुबुक पनि नक्कली बनाएर ग्रामीण र पहाडी क्षेत्रमा कुदाउने गरिन्छ । 

केही ट्रयाक्टर बिक्रेताहरूले भन्सार राजस्व छली गर्न पनि यसरी तस्करी गराउने गरेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार