जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले कम्युनिस्ट सरकारको सर्वसत्तावादी तानाशाही प्रवृत्तिले मुलुक संकटको दिशाउन्मुख भएको बताएका छन् ।
जसपा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ द्वारा बलुवामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भएको आन्दोलन, भ्रष्टाचार, अशान्त स्थिति सरकारको सर्वसत्तावादी, अहंकारले सिर्जना गरेको बताए । ‘लोकतन्त्र भनेको जनताको शासन व्यवस्था हो, तर लोकतन्त्रमा वर्तमान केन्द्र सरकारले नेताको शासन व्यवस्था बनाएर खिल्ली उडाउँदै छ,’ राईले भने ।
यो सरकार पूर्ण रूपले असफल भएको उनको भनाइ थियो । ‘सरकारको कारण भ्रष्टाचार, बेथिति र देशमा प्रतिगामीहरूको चलखेल बढेको छ,’ वरिष्ठ नेता राईले भने, ‘सरकारले कोरोनाजस्तो महामरीको वेला पनि भ्रष्टाचार गरेकाले जनताले सहज उपचार पाउन कठिनाइ भएको छ ।’
जसपाले संघीयता र समुन्नत समाजवादलाई पार्टीको अंगको रूपमा लिएर अधिकारसम्पन्न संघीयताका लागि संघर्ष जारी राखेको उनले बताए । केन्द्र सरकारको संघीयताविरोधी क्रियाकलापले संघीयता धरापमा परेको उनको जिकिर थियो ।
जसपा क्षेत्रीय संयोजक माधव चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं श्रम तथा रोजगार विभाग प्रमुख राजकुमार लेखी, केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठ, सांसद डा. सूर्यनारायण यादव, केन्द्रीय सदस्य एवं पूर्वसांसद सूर्यनाथ यादव, केन्द्रीय सदस्यहरू विनोद चौधरी, जगदेव यादव, महेन्द्र चौधरी, श्यामसुन्दर सरदार, कल्पना चौधरीले मन्तव्य राखेका थिए ।