पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट हुलाकी सडकसम्मको लिंक सडकको रूपमा स्तरोन्नति गर्ने गरी गोलबजार–लगडीगदियानी सडकको सोमबार शिलान्यास गरिएको छ ।
गोलबजार–४ स्थित जनता नमुना माविनजिकै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले संयुक्त रूपमा सडकको शिलान्यास गरेका छन् । सिराहाको गोलबजार–लगडीगदियानी सडकको मन्त्रीद्वयले शिलान्यास गर्दै सडक निर्माणपछि गोलबजार र सीमावर्ती क्षेत्रको विकासले फड्को मार्ने बताए ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै यातायातमन्त्री नेम्वाङले पूर्वाधारको क्षेत्रमा सरकारले काम गरिरहेको बताए । ‘सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा ठुल्ठूला योजना बनाएर काम गरिरहेको छ,’ मन्त्री नेम्वाङले भने, ‘पूर्व–पश्चिम सडकलाई स्तरोन्नति गरी चार र ६ लेनको बनाउने कामको सुरुआत त्यसकै नमुना हो ।’ पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण, वर्षौंदेखि उपेक्षित रहेको पूर्व–पश्चिम हुलाकी सडक आगामी केही वर्षभित्र निर्माण सम्पन्न हुने गरी तीव्र रूपमा काम भइरहेको उनको भनाइ थियो ।
शिलान्यास समारोहमा बोल्दै मन्त्री लीलानाथ श्रेष्ठले सडक निर्माणपछि मदन भण्डारी राजमार्गसम्म जोडिँदा तराईका फलफूल र अन्न पहाडी तथा हिमाली जिल्लासम्म पुग्ने र त्यताका कृषि उपज तराईसम्म ल्याउन सहज हुने भएकाले आर्थिक गतिविधि बढ्ने बताए ।
‘आर्थिक गतिविधिले यो क्षेत्रको समृद्धिमा टेवा पुग्छ,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसबाहेक निजगढ काठमाडौं फास्ट ट्र्याक सडक, सुनकोसी मरिण र कमला डाइभर्सनका लागि दुई अर्ब ५० करोड बजेट छुट्याएर काम थालनी भएको छ ।’ जनस्वास्थ्यलाई ख्याल गर्दै आर्सेनिकमुक्त स्वच्छ खानेपानीका लागि एक अर्ब ५० करोड बजेट छुट्याएको चर्चा गर्दै मन्त्री श्रेष्ठले भने, ‘वर्तमान सरकार सडक, खानेपानी, सिँचाइसँगै रोजगारी बढाएर मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन काम गरिरहेको छ ।’
पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट सीमावर्ती लगडीगदियानीसम्मको २७ किलोमिटर सडक आगामी ०७९ असारसम्म निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भइसकेको गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले बताए लगडीगदियानीबाट उत्तरतर्फ १२ किलोमिटर र गोलबजारबाट दक्षिणतर्फ १५ किलोमिटर गरी दुई प्याकेजमा कालोपत्रेसहित निर्माण गर्न काठमाडौंको कन्ट्याक्ट कन्स्ट्रक्सनलाई ९० करोड रुपैयाँमा ठेक्का दिइएको छ ।