नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६’ आगामी २८ पुसमा हुने भएको छ । मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै स्पोर्टस् अवार्डको मिति सार्वजनिक गरेको हो । स्पोर्टस् अवार्ड ०६० देखि निरन्तर हुँदै आएको छ ।
मञ्चले बजाज पल्सरसँग सहकार्य निरन्तर गर्ने भएको छ । अवार्ड कार्यक्रमका लागि मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र हंशराज हुलास चन्द एन्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । यसअघिकै सम्झौतामा यस वर्ष पनि निरन्तरता भएको हो । हंशराज हुलास चन्द एन्ड कम्पनीले स्पोर्टस् अवार्ड कार्यक्रमका लागि मञ्चलाई २८ लाख रुपैयाँबराबर (नगद र जिन्सी) उपलब्ध गराउनेछ ।
वर्षभरिको प्रदर्शन आधार मानी खेलाडी पुरस्कृत हुनेछन् । खेलाडीलाई उत्कृष्ट बनाउने प्रशिक्षक पनि सम्मानित हुनेछन् । नेपाली खेलकुदमा विशेष योगदान पुर्याउने खेलकर्मीलाई पनि स्पोर्टस् अवार्डबाट सम्मानित गरिनेछ । कोरोना भाइरसका कारण यसपटक अवार्ड कार्यक्रम सातदोबाटोस्थित कराते हलमा सेमी भर्चुअलको माध्यमबाट गरिने भएको छ ।
अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडी, महिला, पुरुष, वर्षका उत्कृष्ट प्रशिक्षक, पारा एथ्लेटिक अवार्ड, स्पेसल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, टिम अफ दि इयर, पिपुल्स च्वाइस र एसियन जर्नालिस्ट अफ द इएर अवार्ड रहेका छन् ।
पिपुल्स च्वाइस अवार्ड, स्पेसल र लाइभ टाइम एचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दिइनेछ । पिपुल्स च्वाइस अवार्ड भने एसएमएस भोटिङका आधारमा हुने बताइएको छ । मञ्चका अध्यक्ष सुवेदीको अध्यक्षतामा अवार्ड मूल आयोजक समिति र सचिव गोविन्द रेग्मीको संंयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ ।