महामारीकै बीच १४ सयभन्दा बढी विदेशी श्रमिकले लिए वर्क परमिट

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना महामारीको अवधिमा आर्थिक गतिविधिमा सुस्तता आए पनि विदेशी कामदार आउने क्रम भने रोकिएको छैन । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार गत चैतदेखि यता हालसम्म १ हजार ४ सय ६० विदेशी श्रमिकले वर्क परमिट लिएका छन् । यो अवधिमा ८ सय ९३ विदेशी श्रमिकले वर्क परमिट नवीरकण गराएका छन् भने ५ सय ६७ जनाले नयाँ वर्क परमिट लिएका छन् ।

महामारीको अवधिमा विदेशी श्रमिक आउने क्रम नरोकिए पनि विगतको तुलनामा घटेको विभागका निर्देशक एवं प्रवक्ता मणिनाथ गोपले बताए । ‘तुलनात्मक रूपमा नयाँ श्रमिक नेपाल आउने क्रम घटेको छ । तर, नेपालमा पहिलेदेखि नै रहँदै आएका श्रमिकले नवीकरण गर्दै बसिरहेका छन्,’ उनले भने । 

विभागको तथ्यांकअनुसार गत चैतमा १ सय ९८ जना विदेशी श्रमिकले वर्क परमिट लिएका छन् । त्यस्तै, वैशाखमा २१, जेठमा ६०, असारमा १ सय ९३, साउनमा ४ सय ८२, भदौमा १ सय ५१, असोजमा ८८, कात्तिकमा १ सय ४१ र मंसिर महिनाको हालसम्म १ सय २६ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । 

चिनियाँ कामदार अधिक 
नेपालमा श्रम गर्न आउने विदेशी श्रमिकमध्ये चिनियाँ कामदारको संख्या अधिक देखिएको छ । चालू आर्थिक वर्ष ०७७÷७८ को पहिलो पाँच महिनामा वर्क परमिट लिने विदेशी श्रमिकमध्ये ८० प्रतिशत चिनियाँ रहेको तथ्यांकमा उल्लेख छ । विभागको तथ्यांकअनुसार सो अवधिमा ९ सय ८८ विदेशी श्रमिकले वर्क परमिट लिएकामध्ये चिनियाँको संख्या ७ सय ६७ रहेको छ । तथ्यांकअनुसार साउन महिनामा ४ सय १९ चाइनिज श्रमिकले वर्क परमिट लिएका छन् । भदौमा १ सय ३५, असोजमा २४, कात्तिकमा ६३ र मंसिरमा ६५ चाइनिज श्रमिकले वर्क परमिट लिएका छन् । त्यस्तै, साउनमा १२ जना कोरियन, ८ श्रीलंकन, ७ अमेरिकी र ७ बेलायती श्रमिकले वर्क परमिट पाएका छन् । 

भदौमा भने १० जना जापानिज श्रमिकले वर्क परिमिट लिएका छन् । ९ बेलायती र ८ अमेरिकन श्रमिकले वर्क परमिट लिएको विभागको तथ्यांकले देखाएको छ । मंसिर महिनामा हालसम्म बेलायतका १९ श्रमिकले वर्क परिमिट लिएका छन् भने ११ जना जापानिज श्रमिकले वर्क परमिट लिएका छन् । नेपालमा ३५ भन्दा बढी मुलुकबाट श्रमिक आउने गरेको विभागका प्रवक्ता गोपले बताए । जसमध्ये चिनियाँ श्रमिकको संख्या अधिक रहेको उनले बताए । 

५ प्रतिशत विदेशी श्रमिकले राख्न पाउने 
नेपालमा सञ्चालित परियोजनाहरूले कुल श्रमिकको संख्यामध्ये ५ प्रतिशत विदेशी श्रमिकले नियुक्त गर्न पाउने व्यवस्था छ । तर, नेपाल सरकार र सम्बन्धित परियोजनाबीच कुनै सम्झौता भएको खण्डमा सोहीबमोजिमको कामदार नियुक्त गर्न पाउने व्यवस्था भएको विभागका प्रवक्ता गोपले बताए । नेपालमा सञ्चालित परियोजनाहरूले नेपालमा नपाइने जनशक्ति मात्रै विदेशबाट भित्र्याउन पाउँछन् । 

नेपालमा वर्क परमिट लिन विदेशी श्रमिकले काम गर्ने परियोजनासँग सम्बन्धित मन्त्रालयको सिफारिस र गृह मन्त्रालयको सिफारिस पेस गर्नुपर्ने हुन्छ । सोहीबमोजिम विदेशी श्रमिकलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वर्क परमिट उपलब्ध गराउँछ । एकपटकमा विदेशी श्रमिकले अधिकतम १ वर्षसम्मको वर्क परमिट पाउँछन् । 

गौतम बुद्ध एयरपोर्ट, होङ्शी सिमेन्ट, जेटिईजस्ता परियोजनामा चाइनिज श्रमिकको प्रयोग भएको विभागका प्रवक्ता गोपले बताए । त्यस्तै, नेपालमा सञ्चालित जलविद्युत् परियोजनाहरूमा विदेशी नागरिकको प्रयोग हुने उनले बताए । 

विदेशी श्रमिकलाई ७ वर्षसम्मको वर्क परमिट
नेपाल भित्रिने विदेशी श्रमिकलाई ७ वर्षसम्मको वर्क परमिट दिइने विभागका प्रवक्ता मणिनाथ गोपले बताए । उनका अनुसार श्रमिकको दक्षता र कामको प्रकार हेरेर तीन वर्ष, पाँच वर्ष र सात वर्षसम्मको वर्क परमिट दिइन्छ । गोपका अनुसार दक्ष कामदारलाई विभिन्नपटक गरी अधिकतम तीन वर्षसम्मको वर्क परमिट प्रदान गरिन्छ । त्यस्तै, दक्ष र प्राविधिक श्रमिक भएमा विभिन्नपटक गरी अधिकतम पाँच वर्षसम्मको वर्क परिमिट दिइन्छ । सामाजिक कार्यमा सक्रिय र राज्यका लागि आवश्यक व्यक्ति भएमा नेपाल सरकारको सिफारिसमा अधिकतम सात वर्षसम्मको वर्क परमिट प्रदान गरिने प्रवक्ता गोपले बताए । नेपालमा भित्रिने सबै मुलुकका नागरिकले वर्क परमिट अनिवार्य लिनुपर्नेछ । तर, भारतबाट भित्रिने श्रमिकले वर्क परमिट लिनुपर्दैन ।

सुझावित समाचार