मसलाको रूपमा प्रयोग गरिने टिमुरले बजार नपाएपछि सल्यानका किसान चिन्तित भएका छन् । व्यावसायिक टिमुर खेतीका लागि प्रख्यात जिल्ला सल्यानमा उत्पादित टिमुरले बजार नपाएपछि कृषक निराश बनेका हुन् ।
गत वर्ष टिमुर बिक्रीबाट मात्रै झन्डै तीन लाख रुपैँया आम्दानी गरेका छत्रेश्वरी गाउँपालिका ५ महानेटाका किसान मोहन केसीले आफूले उत्पादन गरेको टिमुर बिक्री नहुँदा घरमै थन्किएको बताए । यस वर्ष उत्पादन भएको झन्डै तीन क्विन्टल टिमुर बिक्री नै भएको छैन उनले भने ।
गत वर्ष प्रतिकिलो सात सय रुपैयाँका दरले बिक्री गरेको टिमुर यस वर्ष चार सय रुपैयाँ प्रतिकेजीमा समेत बिक्री नभएको उनको भनाइ छ ।
‘मैले गहुँ मकै रोप्ने बारीमा टिमुरखेती गरेको छु, टिमुरका पाँच सय बाेटले उत्पादन दिइरहेका छन्, केही साना बोट पनि रहेका छन्, टिमुर बिक्रीबाटै जीवनगुजारा चलाउँदै आएका थिए, यस वर्ष टिमुर बिक्री नहुँदा समस्या भएको छ’ उनले भने ।
परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसान जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि टिमुरखेतीमा लागेका किसान सबैभन्दा बढी मारमा परेका छन् ।
गत वर्ष टिमुर बिक्री गरेर २ लाख ५० हजार रुपैयाँ बढी आम्दानी गरेका अर्का टिमुर किसान लोकबहादुर डाँगीले पनि उत्पादन गरेको टिमुर यस वर्ष बिक्री नभएको बताए ।
‘बिगतका बर्षमा टिमुर टिप्नेबित्तिकै बिक्री हुन्थ्यो, यस वर्ष आधा मंसिर जादासमेत टिमुर खरिद गर्ने व्यापारी आएका छैनन्’ उनले भने ‘म सँग भएको झन्डै अढाई क्विन्टल टिमुर बिक्री भएको छैन ।’
विगतका वर्षहरूमा कात्तिक–मंसिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर अझै बिक्री हुन सकेको छैन ।
यसअघिका वर्षमा गाउँमै टिमुर खरिद गर्नका लागि आउने स्थानीय व्यापारीहरू यसपालि नआएकाले टिमुर बिक्री हुन नसकेको स्थानीयले गुनासो गर्दै आएका छन् ।
जिल्लाको लेखपोखरा, दमाचौरलगायतका स्थानमा उत्पादित टिमुर बिक्री भएको छैन भने निगालचुँला, कुपिण्डे दह लगायतका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो जार पाउन सकेको छैन ।
टिमुर खरिदका लागि व्यापारी नआएपछि टिमुर घरमा नै थन्किएको किसानहरू टिमुरखेती गरेर नै जीवन निर्वाह गर्दै आएका किसानहरू टिमुर बिक्री नहुदाँ ठूलो मारमा परेका छन् ।
विगतमा जिल्लामा उत्पादित टिमुर भारत हुँदै फ्रान्ससम्म निर्यात हुँदै आएको थिायो ।
डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष ०७६–०७७ मा जिल्लाबाट १७ करोड रुपैयाँ बढीको जडीबुटी निर्यात भएको छ ।