अम्बेडकर : भारतको पहिलो दलित नेता

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

मनमा निकै ठूलो अपमानको चोट बोकेर अम्बेडकरले आफ्नो जीवन जात व्यवस्थाको उन्मूलनका लागि समर्पित गर्ने अठोट गरे

अछुतसँग गरिने छुवाछुतजन्य भेदभावबाट अम्बेडकर वर्षौंसम्म जोगिएकै थिए, किनभने उनका पिता छाउनीमा काम गर्थे । त्यहाँ भेदभाव गरिँदैनथ्यो । उनका पिता ब्रिटिस भारतीय सेनामा सिपाही थिए । जे होस्, बिस्तारै उनले पनि अछुतले झैँ जीवनको घामछायाको सामना त गर्नै थियो । नाई उनको कपाल काट्न किन मान्दैनन् भन्ने प्रश्नसँग उनको जम्काभेट बाल्यकालमै भयो । उनी त्यस्तो अपमानजनक अनुभवबाट गुज्रिनुपर्यो, जसले उनको जीवनको दिशा नै मोडिदियो । त्यो अनुभव उनले कहिल्यै भुल्न सकेनन् । त्यो परिघटना के थियो भने एक दिन उनी आफ्ना भाइ र बहिनीका साथ रेलमा सवार भएर पितालाई भेट्न जाँदै थिए । गन्तव्यमा पुगेपछि स्टेसन मास्टरले उनलाई बोलाएर सोधपुछ गर्न थाल्यो । जसै स्टेसन मास्टरले उनी अछुत भएको थाहा पायो ऊ ‘पाँच कदम पछि हट्यो !’ यसले अम्बेडकरको मन मस्तिष्कलाई नराम्रो गरी झस्काइदियो । आफ्नो अवस्थाको यो भीषण अनुभव उनको मनमा रहिरहनुको कारण सायद उनको संवेदनशीलता र तिखो मस्तिष्क नै हुनुपर्छ । 

सन् १९०७ मा यिनै बौद्धिक गुणका कारण उनी बम्बईस्थित एल्फिन्स्टन हाईस्कुलबाट मेट्रिक पास भए । केही वर्षअघि उनका पिता यहाँ बसाइँ सरेका थिए । त्यसपछि उनले प्रख्यात एल्फिन्स्टन कलेजमा भर्ना हुने अवसर पाए र यहीँबाट १९१२ मा बिए पास गरे । त्यसपछि अमेरिका गएर पढ्नका लागि छात्रवृत्ति पाए । त्यसभन्दा पहिले उनी जस्तो कसैले पनि त्यो अवसर पाएको थिएन । उनले न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीबाट एमए गरे र सन् १९१६ मा लन्डन पुगे । लन्डनमा उनले कानुनको अध्ययनका लागि ग्रेज इनमा भर्ना पाएका थिए । पछि उनले लन्डन स्कुल अफ इकनोमिक्समा आफ्नो पढाइ सुचारु गरिरहेकै थिए कि त्यहाँ धेरै बस्न पाएनन् । छिटै उनी भारत फर्किनुपर्यो किनभने उनको छात्रवृत्तिको समय सीमा अन्त्य भइसकेको थियो । सन् १९१७ मा उनी लन्डनबाट भारत आइपुगे ।

अछुतलाई पृथक् निर्वाचन मण्डलको व्यवस्था गर्ने हो भने हिन्दू एकतालाई त्यसले क्षीण बनाउँछ भन्ने गान्धीलाई भय थियो । त्यसैकारण उनी तत्कालै पुनास्थित यरवदा जेलमा अनशन बसे । फलस्वरूप अम्बेडकरले पृथक् निर्वाचन मण्डलको आफ्नो माग त्याग्नुपर्यो ।

शैक्षिक अध्ययनका कारण उनी अंग्रेजको नजरमा परिसकेका थिए । उनीहरूले अम्बेडकरलाई अछुतहरूको भावी प्रतिनिधिका रूपमा हेरिरहेका थिए । सन् १९१९ मा मताधिकार प्रदान गर्नका लागि योग्यता जाँचमा संशोधन गर्न साउथबरो कमिटी बनाइयो किनभने त्यसबाट अझै धेरै भारतीयलाई विभिन्न प्रान्तको असेम्बलीमा निर्वाचनका लागि मतदानको अधिकार दिन सकियोस् । यो कमिटीले जोसँग सल्लाह गर्यो, त्यसमा अम्बेडकर पनि एक थिए । यो महत्वपूर्ण कुरा थियो, किनभने सन् १९१९ मै ब्रिटिस भारतको प्रान्तीय असेम्बली र सरकारलाई पनि पहिलेभन्दा धेरै अधिकार वा सत्ता दिने गरी सुधार आरम्भ भइसकेको थियो । अम्बेडकरले अस्पृश्यका लागि पृथक् निर्वाचक मण्डल र आरक्षित सिटको व्यवस्था हुनुपर्ने माग गरेका थिए ।

सन् १९२० मा उनले कोल्हापुरका महाराजा, साहु महाराजको आर्थिक सहायतामा मुक नायक नाम जर्नलको सुरुवात गरे । साहु–महाराजले अम्बेडकरलाई जति वेला फेरि एकपटक इंग्ल्यान्ड गएर अध्ययन जारी राख्न भने उनले तत्कालै त्यो प्रस्ताव स्वीकार गरे । त्यसपछि उनी भारत फर्किए र बम्बईमा अधिवक्ताका रूपमा त्यस पेसामा आफ्नो पाइला चाले । अछुत भएकै कारण उनले सेवाग्राही पाउन बडो कठिन थियो । मनमा निकै ठूलो अपमानको चोट बोकेर उनले आफ्नो जीवन जात व्यवस्थाको उन्मूलनका लागि समर्पित गर्ने अठोट गरे । त्यसपछि जुलाई १९२४ मा उनले बहिष्कृत हितकारिणी सभाको गठन गरे र सन् १९२८ मा त्यसको नेतृत्व गरे । गतवर्ष मात्रै उनलाई अंग्रेज सरकारले बम्बई प्रेजिडेन्सीको कार्यपालिका काउन्सिलमा मनोनीत गरेको थियो । काउन्सिलमा रहँदै अम्बेडकरले अछुतले इनारबाट पानी निकाल्न र मन्दिर प्रवेश गर्न पाउनुपर्ने अधिकारका लागि संघर्ष गरे । मन्दिर प्रवेशका बारेमा अम्बेडकरले जुन आन्दोलनको सुरुवात गरेका थिए, त्यो सन् १९३५ सम्म चलिरह्यो ।

३० को दशक अम्बेडकरका लागि दलगत राजनीतिमा नयाँ प्रयोगको चरण थियो । उनले अछुतका लागि पृथक् निर्वाचक मण्डलको अधिकार दिनुपर्ने भन्दै माग राखे । उनको यो मागलाई स्विकारेको भए अछुत निश्चित रूपमा बलियो राजनीतिक शक्तिका रूपमा रूपान्तरित भइसकेका हुन्थे । अंग्रेज सरकारले पनि कम्युनल अवार्डका सिलसिलामा भएको चर्चाका क्रममा उनको तर्कमा आंशिक सहमति जनाइसकेको थियो । सरकारले २४ अगस्त १९३२ का दिन त्यसको घोषणा पनि गरिसकेको थियो । तर, अछुतलाई पृथक् निर्वाचन मण्डलको व्यवस्था गर्ने हो भने हिन्दू एकतालाई त्यसले क्षीण बनाउँछ भन्ने गान्धीलाई भय थियो । त्यसैकारण उनी तत्कालै पुनास्थित यरवदा जेलमा अनशन बसे । फलस्वरूप अम्बेडकरले पृथक् निर्वाचन मण्डलको आफ्नो माग त्याग्नुपर्यो । त्यसका साथै उनले २४ सेप्टेम्बर १९३२ का दिन पुना पैक्टमा पनि हस्ताक्षर गर्नुपर्यो । यो घटनाले अम्बेडकरलाई गहिरो चोट पर्यो । तथापि यी सबै असफलताका बाबजुद पनि अछुतको सबैभन्दा महत्वपूर्ण प्रतिनिधिका रूपमा उनको राजनीतिक उभार जारी रह्यो । 

(जाफ्रलो क्याराभान म्याग्जीनका कन्ट्रिब्यूटिङ एडिटर हुन्)
द क्याराभानबाट

सुझावित समाचार