साना तथा मझौला उद्योग विस्तार नभएसम्म रोजगारीका अवसर बढाउन सकिँदैन : अध्यक्ष गोल्छा

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका अवसर बढाउन नसकिने बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको कार्यक्रममा गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म देशमा रोजगारीका अवसर  बढ्न नसक्ने बताएका हुन् । 

महासंघले साना र मझौला उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहजै कर्जा उपलब्ध गराउने विषयमा काम गर्ने बताए । महासंघले एक सय दिनभित्रमा तयार पार्ने कार्यविधिमा यो विषयलाई प्राथमिकताका साथ समावेश गरी कार्यान्वयनमा लगिने पनि उनले बताए । यस्तै, कृषि क्षेत्रमा रहेको परम्परागत उत्पादनलाई प्रतिस्थापन गरी बढी फाइदा दिने वस्तुहरूको उत्पादन गर्नेतर्फ किसानहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा समेत महासंघले काम गर्ने गोल्छाले बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघलाई कमजोर बन्न नदिने प्रतिबद्धता व्यक्त गरे । उद्योगी व्यवसायीको हितमा सधैँ महासंघलाई बलियो गरी उपस्थित हुने वातावरण निर्माण गरिने उनले बताए । 

कार्यक्रममा उद्योगी व्यवसायीहरूले महासंघ नेतृत्वसमक्ष साना तथा मझौला उद्योगीहरूको हितमा एकजुट भएर काम गर्न आग्रह गरेका छन् । उनीहरूले पक्षविपक्षभन्दा पनि साझा समस्यालाई एकजुट भएर समाधान गर्ने दिशामा अगाडि बढ्न नेतृत्वसमक्ष आग्रह गरेका छन् । 
 

सुझावित समाचार