बुद्धिको प्रयोग गरी आमरूपमा आतंक मच्चाउने कार्य बौद्धिक आतंकवाद हो । यो आतंकवादले भौतिक आतंकवादीले जस्तै बन्दुक, बम, बारुद वा तरबार चलाउँदैन, मस्तिष्क चलाउँछ र सञ्चारका साधन तथा सामाजिक सञ्जाललाई प्रयोग गरी मानिसको दिमागमा आक्रमण गर्छ । प्रविधिको विकाससँगै भौतिक आतंकवाद कमजोर र बौद्धिक आतंकवाद तीव्र हुँदै गएको छ । ट्रेन्ड हेर्दा यो अझ तीव्र भएर जाने र २१औँ शताब्दीको सबैभन्दा ठूलो चुनौती हुने देखिँदै छ । व्यक्तिगत वा संस्थागत रूपमा सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने खालका अभिव्यक्ति राख्नु, स्वघोषित विद्वान्को पगरी गुथेर सत्यलाई ढाकछोप गरी काल्पनिक वा असंगतिपूर्ण तर्क दिई जनतालाई आक्रोशित बनाउनु, भाइरल हुने नाममा युट्युबका पत्रकारहरूले अमानवीय वा अव्यावहारिक समाचारहरू सम्प्रेषण गर्नु, विग डाटालाई ह्याक गरी मानिसमा त्रास उत्पन्न गराउनु यसका उदाहरण बनेका छन् ।
बौद्धिक आतंकवादले शरीरमा चोट पुर्याउँदैन, तर मस्तिष्कमा गहिरो प्रहार गर्छ । भ्रामक सूचना दिई मानिसलाई दिग्भ्रमित पार्छ । मिलिसेकेन्डमा आमरूपमा चेतनालाई मेनुपुलेट गर्छ । राज्य, पार्टी, व्यवस्था, व्यक्ति वा संस्थाका विरुद्ध मानसिक रूपमा विषवमन गराउँछ । र, व्यक्तिको भावना तथा अनुभूतिमा समेत परिवर्तन ल्याइदिन्छ । बैद्धिक आतंकवादले प्रविधिको प्रयोग गरी बैंक वा कुनै डाटा मात्र नभएर मानिसलाई समेत ह्याक गर्छ । समाजमा अविश्वासको वातावरण सिर्जना गरिदिन्छ
बौद्धिक आतंकवाद भौतिक आतंकवादकै सहगामी हो । हरेक मानिसमा मूर्खता कुनै न कुनै रूपमा रहेको हुन्छ र अवस्थाअनुसार प्रकट हुन्छ । मूर्खता स्वार्थसँग जोडिएर संगठित हुँदै विस्तार भएमा त्यसले आतंकवादको रूप लिन्छ । आतंकवाद वास्तविक शक्ति आफ्नो हातमा नभएकाहरूले प्रयोग गर्ने रणनीतिक औजार भएको छ । उनीहरूसँग सत्ता वा मूल शक्तिलाई हत्याउने तागत हुँदैन । त्यसैले डर सिर्जना गराएर प्रमुख पक्षभित्रै विखण्डन ल्याउने प्रयत्न गर्छन्, यिनीहरू । जस्तै, एउटा झिँगालाई चियापसलेले धपाएको रिसमा झिँगाले चियापसल नै भत्काइदिने विचार गर्छ, तर आफैँ सक्दैन । अनि नजिकै बसेको साँढेको कानमा छिर्छ र कराउँछ अनि साँढे फन्किँदै वरिपरिका भित्ता, पसल, सामान भत्काउँदै हिँड्छ । झिँगाले आफ्नो स्वार्थ अरूलाई उत्तेजित गरी पूरा गर्छ । यसैगरी, आतंकवादीहरूले पनि अरूलाई उत्तेजित गरी आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्दछन् । बुद्धिलाई प्रयोग गरी अरूमा आक्रोश बढाइदिने र राज्य वा मूलधारलाई कमजोर बनाउने गरी बौद्धिक आतंकवादीहरू लागिपरेका हुन्छन् । अझ यो ठूला संस्थामा प्रवेश गर्यो भने त परिणाम भयावहै हुन्छ ।
देशका दिमागहरू पलायन हुने वा आफ्नै देशका लागि प्रत्युत्पादक नहुनेमा सचेत हुन र सोहीअनुसारको नीति तय गर्न आवश्यक देखिन्छ । बौद्धिक अराजकताबाट नजोगिने हो भने राजनीतिक अस्थिरता रहिरहनेछ ।
आततायी घटना मिडियाले छिटो प्रसारण गर्ने हुँदा नजानिदो गरी मिडिया पनि यसमा प्रयोग भएका हुन्छन् । मिडियाले समाचार बनाएपछि आतंककारीको थप प्रयत्नविना नै अझ भय र त्रास विस्तार हुँदै जान्छ र त्यसले बहुरूप लिँदै जान्छ । अन्ततः असमञ्जस्य र अस्थिर अवस्था सिर्जना हुन्छ । यही अस्थिरताबाट उनीहरूले अवाञ्छित लाभ लिने चेष्टा गर्छन् ।
राजनीतिक र सामाजिक अस्थिरता बौद्धिक आतंकवादीहरूको मुख्य लक्ष्य हो । यिनीहरू बढी अदृश्य रूपमा हुन्छन् । सामान्य रूपमा उनीहरूको भित्री स्वार्थ बुझ्न नसकिने खालका हुन्छन् । कुरा आमहितका गर्छन्, विचार उच्च कोटिको दिन्छन्, मेनुपुलेटेड तथ्यांकहरू पस्कन्छन् । जनताको इमोसन बुझी त्यहीँनिर घात गर्ने गरी फेक सूचना दिन्छन् । यी सधैँ सत्ताइतरका नजिक देखिन्छन् । अस्थिरता यिनको विचारधारा हो । युवाशक्ति र बेरोजगारहरू छिटो मानसिक रूपमा मेनुपुलेट हुने हुनाले यिनै शक्तिलाई प्रयोग गर्न खोज्छन् । भौतिक आतंकवादभन्दा बौद्धिक आतंकवाद धेरै गुणा खतरनाक हुन्छ । अणुबम वा बन्दुकले निश्चित स्थानका निश्चित व्यक्तिलाई निश्चित समयसम्मका लागि प्रभाव पार्छ, तर बौद्धिक आतंकवादले आमरूपमा एकैपटक लामो समयका लागि प्रभाव पार्छ ।
नवउदारवादको प्रभावसँगै व्यक्तिगत स्वतन्त्रता र वाक स्वतन्त्रतालाई निरपेक्ष रूपमा व्याख्या गर्ने र व्यक्तिगत आँखाले मात्रै हेरी सामाजिक आँखालाई बन्द गर्ने प्रवृत्तिले पनि बौद्धिक अराजकता व्यक्तिगत तहमा मौलाउँदै गएको छ । त्यस्तै प्रविधिको विकासले मानिसको सूचनामा पहुँच बढेको, खर्च र प्रयत्न कम लाग्ने र कर्तालाई जोखिम कम भएकाले पनि बौद्धिक आतंक बढी फैलिँदै गएको छ । ज्ञान मस्तिष्कको उपज भएकाले मानिसको मस्तिष्कमा हमला हुँदै छ । नेपालमा ठूला बौद्धिक आतंक नभए पनि साना आतंक मच्चिरहेका छन् । सामाजिक सञ्जालहरू बौद्धिक आतंकका मुख्य फोरम बनेका छन् । आविष्कारको विस्फोटसँगै जटिलता र मानवीय मूर्खता पनि झन् थपिँदै जान्छन् । त्यसैले अब प्रविधिलाई मानव हितमा उपयोग गर्ने र दुरुपयोग हुन नदिने गरी शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ ।
यो नैतिकतासँग जोडिएको विषय पनि भएकोले मानवीय मूल्य सिकाउन जरुरी छ । प्रविधिमा मानवीय मूल्यलाई जोडेर चुनौतीसँग जुध्न समर्थ बनाउने प्रयत्न गर्नुपर्छ । बौद्धिक आतंकवादको मूल साधन सञ्चारमाध्यम हुन् । आतंककारीले सार्वजनिक सेन्टिमेन्टका विषय उठान गर्छन् र स्वार्थ लुकाउँछन् । त्यसैलाई मिडियाले सार्वजनिक सरोकारको विषय भनी प्रचार गर्छन् । यहाँ मिडियाले स्वार्थप्रेरित र सही तथा जनहितको सूचना छुट्याउनु पर्छ । आतंक मच्चाउने सूचनालाई निरुत्साहित गर्नुपर्छ ।
अटोमेसन र कृत्रिम बौद्धिकताको विकाससँगै श्रमबजारबाट मानिसहरू क्रमशः विस्थापित हुँदै जाने हुँदा आर्थिक रूपमा अनुत्पादक वर्गको आकार झन् बढेर जाँदै छ । काममा व्यस्तता नभएपछि खाली दिमाग सैतानको घर भनेझैँ बौद्धिक अराजकताको मुख्य प्रभाव यही वर्गमा पर्नेछ । जुन राज्यका लागि ठूलो समस्या बन्न सक्छ । त्यसैले राज्यले यस्तो वर्गलाई रोजगारी दिने र सिर्जनात्मक काममा व्यस्त गराउने नीति ल्याउन जरुरी हुन्छ । अब राज्यको लगानी साइबर सुरक्षा र शिक्षातिर बढी केन्द्रित हुन जरुरी छ । देशहरू भूगोल कब्जा गर्ने भन्दा मानिसको ब्रेन कब्जा गर्नतिर लाग्दै छन् । देशका दिमागहरू पलायन हुने वा आफ्नै देशका लागि प्रत्युत्पादक नहुनेमा सचेत हुन र सोहीअनुसारको नीति तय गर्न आवश्यक देखिन्छ । बौद्धिक अराजकताबाट नजोगिने हो भने राजनीतिक अस्थिरता रहिरहनेछ ।
(आचार्य शिक्षा मन्त्रालयमा कार्यरत छन्)