जुम्लाको कुडारीमा १० शय्याको अस्पताल बन्ने

सोमबार, २२ मंसिर, २०७७
डिजिटल संस्करण

जुम्लाको तिला गाउँपालिका– ३ कुडारीमा सुविधायुक्त १० शय्याको अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार एक कार्यक्रमबीच अस्पताल भवनको शिलान्यास गरेका छन् । 

स्वास्थ्य सुविधाबाट पछाडि परेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्थानीय तहमै सुविधायुक्त अस्पताल निर्माण गर्न थालिएको राज्यमन्त्री रावतले बताए । उनले भने, ‘यसअघि कर्णालीका दूरदराजमा बसोवास गर्ने नागरिकले बिरामी हुँदा सिटामोलसमेत खान नपाएर मृत्युवरण गर्नुपरेको तितो सत्य हाम्रासामु सर्वविदितै छ । यस्तै घटनालाई मध्यनजर गर्दै संघीयतापछि अहिलेको सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरी अस्पताल बनाउन थालेको छ ।’  

मन्त्री रावतले नेपाल सरकारले कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा पाँच, १० र १५ शय्याका अस्पताल निर्माणको कार्य थालेको बताए । संरचनासहित दक्ष जनशक्ति र उपकरण पनि सरकारले उपलब्ध गराउने उनले बताए । 

कार्यक्रममा तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले नागरिकका हितका लागि संघ र प्रदेशसँग समन्वय गरी अघि बढेको बताए  । दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर स्वास्थ्य क्षेत्र सुधारमा जुटेको उनको दाबी छ । 

तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले ३१ गाउँबस्ती रहेको तिलामा गुणस्तरीय स्वास्थ्यमा अझै समस्या रहेको बताइन्  । १० शय्याकाे अस्पताल निर्माणले दुर्गम क्षेत्रको स्वास्थ्य सुधारमा नयाँ आयम थप्ने उनको भनाइ छ । अस्पताल निर्माणका लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिइन् । 

सुझावित समाचार