तेलको ट्यांकरभित्र सानो ट्यांकी (फल्स चेम्बर) बनाई पेट्रोल चोरी गर्ने चालक र ढुवानीकर्तालाई जोगाउन पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका पदाधिकारीहरूलेउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेट गरेका छन् । मन्त्री भट्टलाई भेटेर उनीहरूले कारबाही प्रक्रियालाई प्रभावित पार्न खोजेका हुन् ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा पेट्रोल लिएर आएको ना७ख ३६९६ र ना७ख २९९५ नम्बरको ट्यांकरबाट फल्स चेम्बर राखी १–१ हजार लिटर पेट्रोल चोरी गरेको पुष्टि भएपछि ३ मंसिरमा दुवै ट्यांकर समातिएका थिए । समातिएका ट्यांकरका साहुहरू प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकारलाई १५ लाख रुपैयाँ जरिवाना तिराउने निगमले निर्णय गरिसकेको छ । त्यस्तै, ट्यांकरचालकहरू विकेश लामा र अजय लामालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
बारम्बार चोरी घटना बढेपछि आयल निगमले यसपटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई छानबिन गर्ने जिम्मा दिएको छ । सिआइबीले छानबिन थालेपछि अतालिएका व्यवसायीहरूले मन्त्री भट्टलाई भेटेर जोगिन खोजेका हुन् ।
मन्त्री भट्टलाई भेट गर्न ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरा, महासचिव विश्व अर्याललगायत ९ मंसिर दिउँसो १ बजे मन्त्रालय पुगेका थिए । तर, सो दिन मन्त्रालयमा प्रगति समीक्षा भएकाले दिनभर मन्त्री भट्ट व्यस्त भए । मन्त्री समयमा नआएपछि सचिवालयको कक्षमा व्यवसायीहरू कुरेर बसेका थिए । करिब डेढ बजेतिर निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कासमेत मन्त्री भट्टलाई भेट गर्न पुगेका थिए ।
‘व्यवसायी र पूर्वकार्यकारी निर्देशक खड्का मन्त्रीलाई भेट्न आएका थिए । तर, तोकिएको समयमा भेट नभएपछि उनीहरू कुरेर बसेका थिए,’ स्रोत भन्छ, ‘सायद भेटको उद्देश्य एउटै थियो कि भन्ने लाग्छ ।’ फल्स चेम्बर बनाई तेल चोरी गरेर समातिएका ट्यांकरहरू खड्काकै पालामा स्वीकृति लिएका हुन् । ती ट्यांकर वीरबेताल आशीर्वाद प्रालिको नाममा दर्ता छ ।
पेट्रोलियम ढुवानी व्यवसायीले मन्त्रीसँगको भेटमा तेल चोरी गर्नु गल्ती भएको स्विकारेका थिए । उनीहरूले आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार कारबाही गरेर छाड्न आग्रह गरेका थिए । ‘तेल चोरी गर्नु गल्ती हो । यसलाई आयल निगमको विनियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाएर सल्टाउनुपर्यो । सिआइबीलाई छानबिन गर्न दिनुभएन । सिआइबीको छानबिन रोक्नुपर्यो,’ ढुवानी व्यवसायीले मन्त्री भट्टलाई भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।
सो भेटमा उपस्थित महासंघका महासचिव विश्व अर्यालले मन्त्रीसँग भेटेको स्वीकार गरे । ‘हामीले भेट गरेको हो । आयल निगमको विनियमावलीअनुसार कारबाही गर्दा ठीक हुन्छ । किन अरूतिर लाग्नु भनेका हौँ,’ उनले भने । यद्यपि, पूर्वकार्यकारी निर्देशक खड्कासँगै गएको विषयमा उनले अनभिज्ञता जनाए ।
भेटमा मन्त्री भट्टले कानुनअनुसार चोरीमा संलग्न हुनेलाई कारबाही हुने तथा सिआइबीलाई छानबिन गर्ने पत्र लेख्न आयल निगमलाई आफैँले निर्देशन दिएको समेत व्यवसायीलाई बताएका थिए । ‘चोरी घटनामा संलग्न व्यवसायीलाई त कारबाही भइहाल्छ । यसमा निगम कर्मचारीको समेत संलग्नता छ कि भनेर अध्ययन गर्न सिआइबीलाई जिम्मा दिएको हो,’ मन्त्री भट्टको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । आयल निगमकै संरक्षण गर्ने गरी मन्त्री भट्टले जवाफ दिएपछि व्यवसायी निराश भएर फर्किएका थिए ।