बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाताअन्तर्गत चितवनका रुद्रप्रसाद वस्तीलाई ५ लाख रुपैयाँ बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले निक्षेपकर्तालाई ११ लाख रुपैयाँसम्मको बिमा गरिदिने भएकाले त्यसैअनुसार वस्तीले पूर्ण अशक्तता बिमा दाबीअन्तर्गत भुक्तानी प्राप्त गरेका हुन् ।
केही समययता प्राणघातक रोगका कारणले स्वास्थ्य प्रतिकूल भएका वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त रकमले उपचार गरेको बैंकले जनाएको छ । हाल वस्ती सफल उपचारपश्चात् स्वास्थ्य लाभ गरी सामान्य जीवनयापन गरिरहेको बैंकले जनाएको छ ।
बिओके सफलता मुद्दती खाताअन्तर्गत बैंकले सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा बिमा गरिदिने जनाएको छ । बिमा सुविधाअन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताका लागि ५ लाख रुपैयाँ र १८ प्रकारका प्राणघातक रोगका लागि ५ लाख रुपैयाँ र सँगै औषधि उपचारका लागि १ लाख रुपैयाँको बिमा सुविधा दिएको जनाइएको छ । बैंकले हाल ९१ शाखा, ८० एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।