राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना भाइरसको संक्रमणबाट ७६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत डा. शाक्यको बिहीबार बिहान ४ बजे निधन भएको हो ।
डा. शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनी तत्कालीन अर्थमन्त्री डा. रामशरण महतका पालामा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार रहेका थिए ।
उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा सेवा सुरु गरेका थिए । उनले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।
उनलाई २० कात्तिकमा कोरोना संक्रमण भएको थियो । २५ कात्तिकसम्म ग्लोबल अस्पतालमा उपचार गरेका उनी त्यसपछि मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनी मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए । उनका श्रीमती र चार छोराछोरी छन् ।