काठमाडौं महानगरपालिकाले स्वाब संलकन पुनः थालेकोमा स्थानीय खुसी

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले टोलटोलमा गएर पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन् । 

सरकारी निर्णयअनुसार केसी समय बन्द रहेको स्वाब संकलनको काम महानगरले सुरु गरेपछि स्थानीय खुसी भएका हुन् । 

वडा कार्यालयहरूमार्फत जनशक्ति परिचालन गरी पिसिआर परीक्षणका लागि महानगरले स्वाब संकलन गरिरहेको छ ।

स्थानीय आदर्श लामिछाने महानगरको उक्त कामलाई समुदायको सुरक्षाका लागि राम्रो कदम चालेको बताउँछन् । 

यसले जोखिम व्यवस्थापनमा महानगरपालिकाको सक्रियता बढेको महसुस भएको उनले बताए । 

काठमाडौं महानगरपालिकाले अझ बृहत् रूपमा स्वाब संलकन गर्न सके सबैको पहुँचमा पुग्ने आशा स्थानीयले व्यक्त गरेका छन् । 

अहिले विभिन्न मापदण्ड बनाएर स्वाब लिइरहेको महानगरलाई स्थानीय उद्धवप्रसाद लामिछानेले अधिकांश जनता सशुल्क परीक्षण गर्न सक्ने अवस्थामा नभएकाले अभियानलाई बृहत् बनाउनुपर्ने सुझाब दिए । 

अर्का स्थानीय फाल्गुनी दाहालले केही समय बन्द भएर पुनः निःशुल्क स्वाब संलकन भइरहेकोमा खुसी व्यक्त गर्दै महानगरपालिकाले मात्रै नभएर अन्य ठाउँमा पनि यसरी नै अभियान चलाउनुपर्ने माग गरे । 

काठमाडौं महानगरपालिका– ६ का वडाध्यक्ष दीपेन्द्र लामाले संक्रमितको संख्या बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङ र सरकारले तोकेको मापदण्डका आधारमा स्वाब संकलन थालिएको बताए । 

संक्रमित एकाघरका ट्रेसिङमा परेका व्यक्तिको स्वाब संकलन थालिएको उनले बताए । 

कोरोनाको निःशुल्क परीक्षण नगर्ने सरकारी निर्णय सर्वोच्च अदालतको आदेशपछि बदर भएपछि  अहिले सरकार र स्थानीय तहहरूले मापदण्ड बनाएर कोरोना परीक्षण गरिरहेका छन् । 

अन्य जिल्लाहरूमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि काठमाडौं उपत्यकामा भने दिनदिनै संक्रमित बढिरहेका छन् । 
महानगरपालिकाले अशक्त, वृद्धवृद्धाहरूको मोबाइल भ्यानमार्फत स्वास्थ्यकर्मी खटाएर स्वाब संकलन गरिरहेको छ ।

सुझावित समाचार