कोरोना भाइरस कोभिड– १९ को निःशुल्क पिसिआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन सुरु गरेको छ ।
महानगरभित्र रहेका अशक्त, असहाय र ज्येष्ठ नागरिकहरूको पिसिआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको हो ।
चाहेर पनि स्वाब संकलन केन्द्रमा जान नसक्ने अशक्त, ज्येष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत स्वाब संकलनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
सरकारले घोषणा गरेअनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफैँ गर्न सक्ने क्षमता भएकाहरूलाई शुल्क तिरेरै गर्न आग्रह गरे ।
कोरोना नियन्त्रणका लागि सरकारले आफ्नोतर्फबाट कडा मिहिनेत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए ।
उनले स्थानीयस्तरबाट नै कोरोना महामारीविरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेस्ट गर्न मेयर शाक्यले आग्रह गरे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ ।
सोही मोबाइल भ्यानबाट स्वाब संकलन गरिने उनले बताए ।