प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले निडर भएर अघि बढ्ने बताएका छन् ।
पार्टीभित्रको अन्तर्द्वन्द्व उत्कर्षमा पुगेका वेला संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका लागि आएका प्रधानमन्त्रीले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने जनाएका हुन् ।
उनले पार्टी कार्यकर्ताहरूलाई नआत्तीकन अघि बढ्न पनि आग्रह गरे ।
उनले आफू रहरले नभई जनताले जिताएर अध्यक्ष बनाएको दाबी गरे ।
उनले आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा केही नहुने भएकाले नडराई, नधकाई काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।
मंगलबार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्पकमल दाहालको अग्रसरतामा पाँचजना सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको थियो ।
नेकपामा शीर्ष नेताहरूबीच अन्तर्संघर्ष चर्किरहेका वेला प्रधानमन्त्री संखुवासभा आएका हुन् ।