राष्ट्रपति पदसँगै डोनाल्ड ट्रम्पले श्रीमती मेलानिया पनि गुमाउँदै

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को बज्रपातनजिक पुगेका छन् । राष्ट्रपति निर्वाचनमा व्यहोरेको अप्रत्याशित हारको पीडाबाट ट्रम्प बाहिर आउन सकेका छैनन् । यसैमाथि श्रीमती मेलानियासँग सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगेको उनका सहयोगीहरूले दाबी गरेका छन् । ह्वाइटहाउसबाट बाहिरिने निश्चित भएपछि ट्रम्प र मेलानियाबीचको वैवाहिक सम्बन्ध चिसिएको उनीहरूको भनाइ छ । उनीहरूले डिभोर्स नै अन्तिम विकल्पका रूपमा लिएको बेलायतबाट प्रकाशित हुने डेली मेलले जनाएको छ । 

सन् २००५ मा ट्रम्प र मेलानिया वैवाहिक सम्बन्धमा जोडिएका थिए । १५ वर्षको वैवाहिक जीवन एकैपटक खराब कसरी भयो भन्ने प्रश्न उठिरहेको छ । ट्रम्पको कार्यकालमा वरिष्ठ सल्लाहकार बनेका तथा पूर्वसहायक स्टेफानो बोल्कोफले ट्रम्प र म मेलानियाबीचको सम्बन्ध छिटै टुट्ने दाबी गरेका छन् । उनीहरूले बाहिरी संसारलाई मात्रै आफूबीच निकै राम्रो सम्बन्ध रहेको देखाउने गरेको स्टेफानोले जनाएका छन् । तर, ह्वाइटहाउसमा उनीहरूको सम्बन्ध कहिल्यै राम्रो नभएको र सधैँ बिग्रेको उनको भनाइ छ । स्टेफानोका अनुसार यो चार वर्षको कार्यकालमा ट्रम्प र मेलानिया ह्वाइटहाउसमै बसे पनि उनीहरूका कोठा फरक थिए । ‘ह्वाइटहाउसमा राष्ट्रपति र फस्र्ट लेडी अलग–अलग कोठामा सुत्थे,’ स्टेफानोले भने, ‘सम्बन्ध केवल देखाउनका लागि मात्र थियो ।’ 

यसैगरी ट्रम्पका पूर्वसहयोगी ओमारोसाले पनि ट्रम्प र मेलानियाबीचको १५ वर्षको वैवाहिक जीवन लगभग समाप्त हुन लागेको बताएका छन् । राष्ट्रपतिको नतिजासम्म मेलानियाले प्रतीक्षा गरेको उनको भनाइ छ । ‘मेलानिया राष्ट्रपति निर्वाचनको अन्तिम परिणामको प्रतीक्षामा थिइन्, ट्रम्प विजयी हुँदा सम्बन्ध लम्बिन सक्थ्यो, तर हारसँगै मेलानिया डिभोर्सको प्रक्रियामा लागेकी छिन्,’ ओमारोसाले भने, ‘ट्रम्पको हारले अवस्था झनै खराब देखियोे ।’ 

यदि डिभोर्स भएमा कानुनअनुसार ट्रम्पले आफ्नो सम्पत्तिको आधा हिस्सा मेलानियालाई दिनुपर्छ । मेलानियाले पनि ट्रम्पसँग सम्पत्तिको आधा भाग चाहिने दाबी गरिरहेकी छिन् । सन् २०१६ मा पहिलोपटक राष्ट्रपति हुँदा ट्रम्पले मेलानियालाई फस्र्ट लेडीको रूपमा विश्वलाई चिनाएका थिए । त्यसवेला पनि यी दुईबीचको सम्बन्धबारे नराम्रो टीका–टिप्पणी हुने गरेको थियो । 

तर, ट्रम्पले आफूहरूबीचको सम्बन्ध सौहार्द भएको देखाउन मेलानियालाई विभिन्न कार्यक्रममा सँगै लाने गरेका थिए । ‘तर मेलानिया प्रत्येक मिनेट गणना गरिरहेकी थिइन्, सक्दो छिटो डिभोर्स लिने पक्षमा थिइन्,’ ट्रम्पका पूर्वसहायक ओमारोसाले भने । 

ट्रम्पको वैवाहिक जीवन कहिले पनि राम्रो भएन । सन् १९७७ मा ट्रम्पले अमेरिकन बेस चेकका व्यापारी महिला इभानासँग विवाह गरेका थिए । सन् १९९२ मा इभानासँग उनको डिभोर्स भएको थियो । सन् १९९३ मा ट्रम्पले टेलिभिजन अभिनेत्री मार्ला मापेससँग विवाह गरे । उनीसँग पनि सन् १९९७ मा अलग हुने निर्णयसँगै सन् १९९९ मा ट्रम्प र मापेसबीच डिभोर्स भयो । 
 

सुझावित समाचार