कोरोना रोकथाम गर्न बेनीमा स्वास्थ्यकर्मीको घरदैलो

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण
कोरोना रोकथाम गर्न बेनीमा स्वास्थ्यकर्मीको घरदैलो

म्याग्दी सदरमुकाम बेनीमा स्वास्थ्य मापदण्ड पालनासम्बन्धी शपथ खुवाइँदै । तस्बिर : नयाँ पत्रिका

म्याग्दी सदरमुकाम बेनीमा कोरोना संक्रमणको जोखिम बढेपछि रोकथाम र नियन्त्रण गर्न अभियान चलाइएको छ । बजारका हरेक घरमा पुगेर कोरोना संक्रमणबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नगरवासीमा कोरोनाका लक्षणको सम्बन्धमा जानकारी लिन टोली परिचालन गरिएको छ । 

बेनी नगरपालिका, डिसिसिएमसी र स्वास्थ्य कार्यालयसहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामूलक सन्देश प्रवाह गरिरहेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । उनका अनुसार बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा अहिले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली परिचालन भएको छ । 

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, वडाका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको उपस्थितिमा आइतबार सहिद स्मृति चोक र न्युरोडबाट अभियानको शुभारम्भ गरिएको थियो । 

घरघर पुगेर जागरण फैलाइँदै
घरघरमा पुगेर नागरिकको स्वास्थ्य अवस्थाको जानकारी लिइने र जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न अनुरोध गरिने नगरपालिकाका स्वास्थ्य संयोजक लीला गौतमले जानकारी दिइन् । 

अभियानले पहिचान नभएका संक्रमितको पहिचान गर्न र थप संक्रमण रोकथाममा सघाउ पुग्ने प्रजिअ अधिकारीको भनाइ छ । नागरिकलाई सचेत बनाउने र कोरोना भाइरस रोकथाममा थप जिम्मेवार बनाउन अभियानले सघाउने उनले बताए । जिल्लामा हालसम्म एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७२ जना निको भइसकेका छन् । म्याग्दीमा कोरोनाको संक्रमण बढेपछि बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा यातायातबाहेकको सेवा बन्द गरिएको छ । बैंक, सहकारी तथा वित्तीय संस्थाको सेवा स्थगन गरिएको छ भने सरकारी कार्यालयको समेत अत्यावश्यक र आन्तरिकबाहेकको सेवा स्थगन गरिएको छ ।

स्वास्थ्य मापदण्ड पालना गराउन नागरिकलाई शपथ
अभियानकै क्रममा आइतबार बेनीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न नागरिकलाई शपथ खुवाइएको छ । घरघरमा पुगेका स्वास्थ्यकर्मीको टोलीले स्थानीयवासीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि आफूले स्वास्थ्य मापदण्डलाई पालना गर्छु भन्ने प्रतिबद्धता जाहेर गर्न लगाउँदै शपथ खुवाएका हुन् । प्रतिबद्धतासहितको शपथले महामारी नियन्त्रणमा सरकारी प्रयासले मात्रै सम्भव नहुने भएकाले हरेक नागरिकलाई जिम्मेवार बनाउन र उनीहरूलाई आफ्नो पनि कर्तव्य र दायित्वबोध गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । ‘म कोरोना भाइरसबाट बच्छु, यदि संक्रमित भइहालेमा अरूलाई संक्रमित हुनबाट जोगाउँछु, स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्न प्रतिबद्ध छु’ लगायत प्रतिबद्धतासहित नगरवासीको घरघरमा पुगेर शपथ खुवाइएको छ ।

See More On

सुझावित समाचार