मास्क र स्यानिटाइजर बोकेर कांग्रेस नेता जोशीले थाले घरदैलो अभियान

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कोरोना संकटविरुद्ध सचेतना तथा स्वास्थ्य सामग्री वितरणका लागि घरदैलो अभियान थालेका छन् । सर्वोच्च नेता गणेशमान सिंहको १०६औँ जन्मजयन्तीको अवसर पार्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अध्यक्षसमेत रहेका जोशीले काठमाडौं क्षेत्र नं. ८ मा सोमबारबाट घरदैलो अभियान सुरु गरेका हुन् । 

अभियानका क्रममा कोरोना महामारीका वेला मतदाताको घरदैलोमा पुगेर सतर्कता अपनाउन आग्रह गर्ने, सचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, निःशुल्क मास्क, स्यानिटाइजर र औषधि वितरण गर्ने उनले बताए । यस्तै, होम आइसोलेसनमा बसेका संक्रमितहरूको जटिल अवस्था भए अक्सिमिटरसमेत उपलब्ध गराउने नेता जोशीले बताए । 

‘मतदाताका घरदैलोमा चुनावमा मात्र हाेइन, आपत्विपत् पर्दा पनि हामी राजनीतिज्ञहरू उपस्थित हुनुपर्छ,’ नेता जोशीले भने, ‘मुख्यतः बढ्दो कोभिड–१९ को संक्रमणबाट बच्न जनचेतना फैलाउने र घरदैलोमै पुगेर कम्तीमा माक्स लगाउन प्रोत्साहन गर्ने गरी अभियान थालेको हुँ ।’  सबै राजनीतिज्ञहरूले आ–आफ्नो क्षेत्रमा यति मात्रै प्रयास गरे पनि कोरोनाविरुद्धको संकट जित्न सम्भव हुने उनको भनाइ छ । 

अभियानअन्तर्गत गणेशमान सिंह अध्ययन प्रतिष्ठानको संयोजनमा संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने टेलिसेन्टरसमेत सञ्चालनमा ल्याइएको छ । टेलिसेन्टरबाट बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गरिने अध्यक्ष जोशीले बताए । टेलिसेन्टरमार्फत सर्वसाधारणले जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे, डा. भूपेन्द्र बस्नेतलगायतका विशेषज्ञ चिकित्सकको परामर्श सेवा पाउनेछन् । कोरोना महामारी नियन्त्रण नभएसम्म टेलिसेन्टर निरन्तर सञ्चालन हुनेछ । 

सुझावित समाचार