मन लोभ्याउने मानहुँ : पहिले उपेक्षित, अहिले अपेक्षित

एकदिनमै १० हजारभन्दा बढी पर्यटक पुगे, जग्गा अत्यधिक महँगिन थालेपछि किनबेचमा रोक

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

तनहुँ सदरमुकाम दमौली बजारदेखि दक्षिण–पश्चिमतर्फ रहेको मानहुँ डाँडा केही वर्र्षअगाडिसम्म उपेक्षित थियो । व्यास नगरपालिका–५ मा पर्ने डाँडा अपेक्षा गर्ने ठाउँमा परिणत भएको छ । दृश्यावलोकनका लागि अन्तरिक पर्यटकको घुइँचो लाग्न थालेपछि सो क्षेत्र नगरपालिकाको नै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको हो । अहिले त्यहाँ एकैदिन १० हजारसम्म पर्यटक पुगेका छन् । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले शनिबार मात्र त्यहाँ १० हजारभन्दा धेरै पर्यटक पुगेको बताउँछन् । अन्य दिन हजारभन्दा बढी पर्यटक पुग्ने गरेका थिए ।

कोरोना संक्रमणका कारण मानिस बाहिर निस्कन डराइरहेका वेला त्यसको पर्वाह नगरी त्यहाँ मेला लागेजस्तो अनुभूति भएको थियो । पोखरादेखि आइपुगेका कृष्णबहादुर खत्रीले मानहुँकोट सुन्दरताले भरिपूर्ण भएको बताए । मानहुँकोटको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी पाएका उनी अत्यन्त घुम्न लायक ठाउँ बताउँछन् ।

तर, कोभिडबाट बच्न सुरक्षा उपाय नअपनाएकोमा भने उनले दुःख प्रकट गरे । ‘कमसेकम यहाँ आउनेहरू मास्क लगाएर आएको भए राम्रो हुन्थ्यो, कोरोना संक्रमणको जोखिम कम हुन्थ्यो,’ उनले भने । मानहुँकोटमा भिड बढेकोबारे आफूले शनिबार मात्रै थाहा पाएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । ‘मानहुँकोटमा भिडभाड बढेको रहेछ, मैले बल्ल थाहा पाएँ,’ उनले भने । 

भएका पुराना सबै घर होटेलमा परिणत
मानहुँ डाँडाको शिर मानुङकोटनजिक रहेका पुराना घरहरू सबै होटेल (खाजा घर)मा परिणत भएका छन् । सबै घरमा खाजा, खाना र वासको सुविधा लेखिएका साइनबोर्ड छन् । स्थानीय ६३ वर्षीया रेवती आलेका अनुसार अहिले अत्यधिक मानिस कोटमा पुग्छन् र सयौँको संख्यामा त्यतै रात बिताउँछन् । रात बिताउनेमध्ये कतिपय टेन्ट लगेरै बस्छन् भने केहीलाई तिनै पुराना घर र अहिले पढाइ बन्द भएको मानहुँकोट प्राविका तीन कोठामा व्यवस्थापन गर्ने गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘घुम्ने र बस्नेको चाप धेरै भयो, केहीले आफैँ टेन्ट ल्याउँछन् र चौरतिर नै सुत्छन्, अरूलाई यिनै पुराना घर र स्कुलका तीनवटा कोठामा व्यवस्थापन गर्ने गरेका छौँ,’ उनले भने । 

विगतमा ७० घरधुरी रहेको सो स्थानमा अहिले सबै बसाइँ सरेको र आफूले कुरेर बस्दा पालो आएको रेवती आले स्मरण गर्छिन् । सो क्षेत्रमा अहिले जम्मा सात घर मात्र छन् । ‘पहिले यहाँ टन्नै घुमाउने घर थिए, धेरैले छोडेर गए, घरहरू भत्किए, हामीले यहीँ कुरेर बस्यौँ, अहिले पालो फर्केको छ, बिदाको दिन बरन्डा, पिँढी र सबै कोठामा पाहुना बस्छन्, रमाइलो हुन्छ,’ विगत सम्झँदै उनले भनिन् । अहिले भने सहर झरेकाहरू गाउँ फर्केर घर बनाउने सुरसारमा रहेको उनले सुनाइन् । 

मनोरम दृश्य, अब तालले पनि घेरिने
मानहुँ डाँडाबाट दमौली बजारदेखि त्यसवरपर मात्र नभएर अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृंखला सहजै देख्न सकिन्छ । डाँडाको उत्तरपूर्वमा रहेको दमौली, मादी र सेतीको संगमस्थल पवित्र व्यास भूमि पनि हो । यसको धार्मिक महत्व छँदै छ । दमौलीको मुख्य बजार प्रवेश गर्नुअगाडि मादीको पुल तल बोटलको घाँटी आकारको कृत्रिम ताल बनाउने योजनामा व्यास नगरपालिका छ । त्यसका लागि ३९ लाख रुपैयाँ खर्चमा डिपिआर तयार गर्न सम्झौता नै गरिसकेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल बताउँछन् ।

पहिले यहाँ टन्नै घुमाउने घर थिए, धेरैले छोडेर गए, घरहरू भत्किए, हामीले यहीँ कुरेर बस्यौँ, अहिले पालो फर्केको छ, बिदाको दिन बरन्डा, पिँढी र सबै कोठामा पाहुना बस्छन्, रमाइलो हुन्छ

गत असोजमा भएको सम्झौताबमोजिम ६ महिनाभित्र डिपिआर तयार भइसक्नेछ । त्यसैगरी, सेतीमा तनहुँ हाइड्रो बन्दै छ । राष्ट्रिय गौरवको यो आयोजना बन्दा सेतीमा ठूलो ताल बन्नेछ । यस हिसाबले डाँडाको दुवैतर्फ ताल हुनेछन् । दमौली बजारबाट गर्मी छल्न र बजारलगायत हिमशृंखला हेर्दै तालले घेरिने उक्त डाँडा आन्तरिक र बाह्य दुवै पर्यटकका लागि रोजाइको स्थल बन्ने प्रशासकीय अधिकृत सिग्देलले बताए । त्यहीअनुरूप लगानी गरेर पूर्वाधार बन्ने उनको भनाइ छ ।

मानुङकोटमा दसैँमा र मंसिर पूर्णिमामा बलि चढाइन्छ । मगर, नेवार र केही ब्राह्मण बस्ती रहेको उक्त क्षेत्रदेखि व्यास नगपालिका–८ को पुलिमराङ जोड्न सहिद दिवसमा ४३ किलोमिटर म्याराथन दौडसमेत हुने गरेको छ । व्यास नगरपालिकाले २५ कात्तिकदेखि दैनिक तीन सय भन्दा बढी मानिसलाई मानहुँकोटमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेको छ । 

पूर्वाधारयुक्त बनाइँदै
व्यास नगरपालिका–५ का वडाध्यक्ष श्रेष्ठका अनुसार मानहुँ डाँडामा विगतमा झन्डै सात सयको हाराहारीमा घर थिए । बसाइँसराइका कारण अहिले मुस्किलले सात घर छन् । ती घरहरूमा पनि बुढापाका मात्रै बस्छन् । युवाहरू विदेश र दमौलीलगायत अन्य सहरमा रोजगारीमा छन् भने बालबालिका पढाउन अधिकांश महिला दमौली झरेका छन् । खासगरी खानेपानी समस्याकै कारण त्यहाँबाट स्थानीयहरू बसाइँ सरेको उनको ठम्याइ छ । अब लिफ्टििङ खानेपानी योजना ल्याउने निष्कर्षमा पुगेको उनले बताए ।

मानुङकोटबाट देखिने दमौली बजारसहितको दृश्य ।

स्थानीय कुवाहरूको संरक्षणका काम पनि भइरहेको छ । दमौलीबाट कोटसम्म पक्की सडक निर्माण हुँदै छ । सात किलोमिटर लम्बाइको सडक निर्माणका लागि झन्डै आठ करोडमा रानीबारी कन्स्ट्रक्सनले ठेक्का लिएर काम अगाडि बढाएको छ । दुई किलोमिटर बाटो पिच भइसकेको छ, ८० मिटर ढलान भएको छ । ग्याभिन भर्नेलगायतका काम भएर पिचको काम बाँकी छ । ‘लकडाउन नभएको भए असार मसान्तमै त्यो सकिन्थ्यो, बीचमा रोकियो अब छिट्टै पिचको काम अगाडि बढ्छ,’ वडाध्यक्ष श्रेष्ठले भने । 

मानुङकोटको उत्तरी भागमा अहिले एक किलोमिटरभन्दा लामो रेलिङ हालिसकिएको छ । ३५ लाखको लागतमा रेलिङ निर्माणको काम भएको हो । त्यसैगरी, विभिन्न भ्युप्वाइन्ट निर्माणलगायतका पूर्वाधार निर्माणका लागि गत वर्ष नै ४० लाख रुपैयाँ विनियोजन भएकोमा ३६ लाख ५० हजार लागतमा माछा बाराही कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएर काम थालेको छ ।

मानहुँकोट पुग्ने पैदलमार्ग दुवैतर्फबाट (पाटनबाट र चापाघाट) सिँढी निर्माणको काम भाइरहेको छ । त्यसका लागि ३५ लाख रुपैयाँ वडाकै तर्फबाट खर्च भइसकेको छ । त्यहाँ सार्वजनिक शौचालय र सार्वजनिक जग्गा संरक्षणका लागि २५ लाख रुपैयाँ छुट्याएको छ । आइतबार मानहुँमै बसेको नगरपालिकाको बोर्ड बैठकले सर्वजनिक शौचालय निर्माण, सार्वजनिक जग्गा संरक्षण र आवश्यक पूर्वाधारका लागि बजेट छुट्याउने निर्णय गरेको हो । 

चलखेल हुन सक्ने भन्दै जग्गा किनबेचमा रोक
आन्तरिक पर्यटक दिनहुँ जान थालेपछि सम्भावना देखेर अहिले मानहुँकोट वरपर जग्गा किन्ने लहर नै चलेको छ । चार वर्र्षअगाडि २० हजार रुपैयाँमा प्रतिआना बिक्री हुन मुस्किल जग्गा अहिले आनाकै तीन/चार लाख रुपैयाँमा कारोबार हुन थालेको छ । यसलाई रोक्न दुई महिनालाई किनबेच रोक्का गरिएको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

आइतबार बसेको बोर्ड बैठकले किनबेच रोक्का गर्ने निर्णय गरेको हो । त्यहाँ होटेल, रेस्टुरेन्ट र विभिन्न प्रकारका पूर्वाधार निर्माणका लागि विभिन्न व्यक्ति र समूहले समेत चासो राख्ने गरेका छन् । ५÷७ आना जग्गा लिने बजारीयाहरू धेरै रहेको उनले सुनाए । अव्यवस्थित बस्ती बस्ने सम्भावना देखिएकाले उक्त क्षेत्रमा जग्गा विकास योजना ल्याउने तयारीमा नगरपालिका रहेको उनको भनाइ छ । त्यसका लागि वडा नम्बर ५ का वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा समिति गठन भइसकेको छ ।

See More On

सुझावित समाचार