पर्यटनमा नीतिगत अलमल

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी मंसिरदेखि पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी गरेको छ । धार्मिक स्थललाई पनि मंसिर १ गतेबाट खुला गर्ने भनिएको छ । पर्यटन खुला गर्दा स्वदेशी तथा विदेशी पर्यटक सबैका लागि खुला भन्ने अर्थ लगाई निर्णय गरिएको छ ।

यता देशभित्रको आवतजावतमा असोज पहिलो साताबाट रोकटोक हटाइएपछि दसैँ छेको पारेर आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पोखरा र सौराहाजस्ता पर्यटकीय आकर्षणका क्षेत्रमा यसले थोरै आशा र उत्साह थपेको पनि छ । नयाँ खुलेको कुस्मा–बलेवा जोड्ने झोलुंगे पुलमा बनेको बन्जीजम्पमा पनि काठमाडौंदेखि पर्यटक पुगेका छन् । 

अक्टोबर आखिरीसम्ममा विदेशीको सानो संख्या पनि नेपाल घुम्न आएको छ । लामो समयसम्म व्यवसाय बन्द गर्न बाध्य भएका पर्यटन व्यवसायीलाई धराशयी हुन नदिन र व्यवसायलाई जेनतेन सामान्य अवस्थामा फर्कन लाग्ने समयसम्म पर्खन सक्ने गरी यो क्षेत्रलाई टिकाइराख्न पनि अब पर्यटन क्षेत्र खुला गरी मानिसलाई घुम्न दिन जरुरी भइसकेको छ ।

तर, यसो गर्दा यसले कोरोना विस्तारमा पार्ने प्रभाव र त्यस्तो प्रभाव फैलिँदा पर्यटन क्षेत्रमै पर्न सक्ने विपरीत प्रभावबारे पनि ध्यान दिनु जरुरी छ । यससँगै यस्ता निर्णयमा देशभर एकरूपता पनि अपनाउनु आवश्यक छ । हालै मुस्ताङ र मनाङका जिल्ला प्रशासनले पर्यटकलाई निरुत्साहित गर्ने निर्णय गरेका छन् । 

पर्यटन मन्त्रालयले पर्यटकका लागि विशेष मापदण्डसहित एकरूपता कायम हुने गरी निर्णय गरेर सबै ठाउँमा लागू गर्नु जरुरी छ

कर्णालीका केही जिल्लाले पनि पर्यटक भित्र्याउन नहुने जस्ता निर्णय गरेका छन् । मनाङले ७२ घन्टाभित्रको कोरोना परीक्षणबाट नेगेटिभ देखिएकालाई मात्र जिल्ला घुम्न दिने निर्णय गरेको छ । मनाङमा चिसो मौसम सुरु भएको र यस्तो मौसममा मौसमी रुघाखोकीका साथै कोभिडको संक्रमण पनि फैलिन सक्ने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।

यो निर्णय स्वाभाविकजस्तो देखिए पनि सरकारको नीतिसँग बाझिने हो कि जस्तो देखिएको छ । पर्यटन मन्त्रालयले पर्यटकका लागि विशेष मापदण्डसहित एकरूपता कायम हुने गरी निर्णय गरेर सबै ठाउँमा लागू गर्नु जरुरी छ । त्यसअघि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही घन्टामा कोरोना पत्ता लगाउने परीक्षण उपकरण देशव्यापी रूपमा उपलब्ध गराउन पहल गर्नु आवश्यक छ ।

यसो गर्दा पर्यटकले घुम्दाघुुम्दैको अवस्थामा पनि शंका लागेमा या कसैलाई रिपोर्ट देखाउनुपरेमा तत्काल परीक्षण गराउन सक्छन् । परीक्षणको रिपोर्ट नआउन्जेल सतर्क रहन या क्वारेन्टिनमा बस्न सक्छन् ।

कुनै विदेशी नागरिक नेपाल घुम्न आउँदा देखाउने ७२ या ९२ घन्टाअघिको नेगेटिभ रिपोर्ट कति दिनलाई वैध हुन्छ भन्ने प्रश्न पनि उठ्न सक्ने भएकाले सस्तोमा धेरैपटक जता पुगे पनि परीक्षण गर्न पाउने व्यवस्था गर्नु नै पर्यटकबाट हुन सक्ने सम्भावित संक्रमण रोक्ने सहज र सजिलो उपाय हो । यस्तो व्यवस्था कमसेकम मुख्य पर्यटकीय क्षेत्रमा प्रवेश गर्ने सबै ठाउँमा राख्न सकियो भने पर्यटकलाई सबै ठाउँ खुला गर्न सहज हुन्छ । पर्यटन क्षेत्र खोलौँ र यसलाई व्यवस्थित पनि गरौँ । कोरोनासँगै जीवन चल्नु पनि आवश्यक छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार