सल्यानमा कोरोना संक्रमणबाट पहिलोपटक एकको निधन

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

सल्यानमा पहिलोपटक कोरोना संक्रमणबाट एकजनाको निधन भएकाे छ।

सल्यानकाे शारदा नगरपालिका निवासी ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको नगरपालिकाकाे स्वास्थ्य शाखाले जनाएको छ । केही दिनअघिदेखि ज्वरो, रुघाखोकी  लागेपछि उनलाई उपचारका लागि दाङ लगिएको थियो ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दाङबाट उनलाई कोहलपुर रिफर गरिएको परिवारले बताएको छ । कोहलपुर भर्ना गरेको भोलपिल्ट शुक्रबार उनको निधन भएको अस्पतालले जनाएकाे छ ।

निधन भएको एक दिनपछि (शनिबार) उनको रिपोर्ट पजिटिभ आएको वडाध्यक्ष  नवराज बुढाथोकीले बताए । बुढाथोकीले मृतककाे सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेका छन्। 

बजार क्षेत्र एक साताका लागि बन्द

सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर एकसाताका लागि बन्द गरिएको छ । कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मत्यु भएपछि श्रीनगर बजार एक साताका लागि बन्द गरिएको हो । यस्तै कोरोना संक्रमणका लक्षण मिल्ने बिरामी भएको जानकारी आएपछि  श्रीनगर बजार क्षेत्रमा बन्द गरिएको नगरपालिकाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

आजदेखि कात्तिक २९ सम्म शान्तिनगर, श्रीनगर, शीतलपाटीदेखि बेलघारीसम्म बन्द गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । उनले अत्यावश्यक सामान खरिदका लागि भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ बजेदेखि १० बजेसम्म पसल तथा बैंकहरू सञ्चालन गर्न सकिने बताए ।

कोरोना संक्रमितको संख्या पाँच सय ५० पुग्यो

जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय ५० पुगेको छ । तीमध्ये अहिलेसम्म पाँच सय सातजना कोरोना भाइरस संक्रमित निको भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । उनका अनुसार हाल जिल्लामा ४३ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । 
 

सुझावित समाचार