सरकारले कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउने

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

सरकारले कोरोना संक्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उनले उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिए । अहिले काठमाडौं उपत्यकामा १५ वटा  र देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिरहेका थिए ।

अहिले देशभरका गाउँपालिकामा चार सय ६०, नगरपालिकामा पाँच सय ५२, उपमहारपालिकामा ३३  र  महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् । 

उनका अनुसार सरकारले पहिले काठमाडौं उपत्यकामा र त्यसपछि उपत्यकाबाहिर ट्रेसिङलाई केन्द्रित गर्नेछ । त्यस्तै संक्रमितको नजिक रहेका व्यक्तिलाई तथा संक्रमितको ट्राभल हिस्ट्रीको आधारमा नजिकका आफन्त तथा घरपरिवार सबैको ट्रेसिङ गर्नेछ ।

त्यस्तै, मन्त्रालयले संक्रमितको निगरानी गर्न प्रत्येक टोलमा सहयोग समूह गठन गर्ने भएको छ । उनले ५० घरबराबर एउटा सहयोग समूह गठन गरिने बताए । समूहकामा पाँचदेखि सातजना रहनेछन् ।

समूहले आफ्नो टोलमा रहेका संक्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्नेछन् । समूहले कोभिड–१९ सँग सम्बन्धित व्यक्तिलाई अस्पताल पुर्याउने र संक्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्वाब दिएकालाई घरबाहिर निस्कन दिने छैनन् ।

सुझावित समाचार